काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले औसतमा वार्षिक ३५१ मानव बेचबिखनका घटना हुने गरेको तथ्य सार्वजनिक गरेको छ । मानव बेचबिखन विरुद्धको अधिकारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो बताएको हो । आयोगले नेपालका ७७ मध्ये ७० जिल्लामा यस्ता घटना भइरहेको बताएको छ ।
कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाहरू अदतलालबाट छिटो फैसला हुनुपर्ने बताए । यस्ता घटनाको न्याय निरूपणमा विलम्ब भएको उनको भनाइ छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको अध्यक्ष मगरले उल्लेख गरे ।
आयोगका सिफारिस कार्यान्वयन नहुँदासम्म मानव बेचबिखन न्यूनीकरण नहुने अध्यक्ष मगरले बताए । रोजगारीको प्रलोभनमा पार्दै नेपालीहरूलाई विदेशमा लगेर अवैध कल सेन्टरमा काम लगाउने, महिलाहरूको डिम्ब तस्करी गर्ने तथा रात्रिकालीन व्यवसायमा लगाउने गरेको पाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, लामा पढाउने नाममा बालकहरूको तस्करी हुने गरेको समेत प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय चिनियाँहरूसँग विवाह गर्ने प्रलोभनमा पनि धेरै नेपालीहरू बेचबिखनमा परेको अयोगले जनाएको छ
आयोगका अनुसार परम्परागतसँगै मानव बेचबिखनका नयाँ आयामहरू समेत थपिएका छन् ।
प्रतिक्रिया