काठमाडौं– नयाँ वर्षको सुरुवातसंगै दुई तिहाई नजिकको बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारसँग लगानीको वातावरण र व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउने उद्योगी व्यवसायीले अपेक्षा गरेका छन् ।
हरेक नयाँ वर्ष केवल उत्सवको समय मात्र नभई आगामी वर्षको योजना बनाउने, लक्ष्य निर्धारण गर्ने र आर्थिक रणनीति तय गर्ने महत्वपूर्ण अवसर पनि हो । विशेषगरी नेपाल जस्तो विकासशील मुलुकमा व्यवसायी र उद्योगीहरूले स्थायित्व, वृद्धि र प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले स्पष्ट आर्थिक दृष्टिकोण बनाउनु जरुरी हुन्छ ।
बालेन नेतृत्वको सरकारप्रति व्यवसायीहरुको अपेक्षा अत्यन्त उच्च छ । विशेषगरी भ्रष्टाचार नियन्त्रण, सरकारी खर्च व्यवस्थापन, रोजगारी सिर्जना तथा सार्वजनिक सेवा प्रवाह सुधार जस्ता विषयहरूमा तत्काल परिणामको अपेक्षा व्यवसायीहरुले गरेका छन् । यदि यी क्षेत्रमा ठोस प्रगति हासिल गर्न सकियो भने, यसले जनविश्वासलाई सुदृढ बनाउनेछ र आर्थिक वृद्धिमा सकारात्मक परिवर्तन आउने विश्वास गरेका छन् ।
मुद्रास्फीति नियन्त्रण र उपभोक्ताको क्रयशक्ति वृद्धि नभएसम्म बजार चलायमान हुन नसक्ने अर्थतन्त्रका जानकारहरू बताउँछन् । सबल अर्थतन्त्रका लागि स्थिर बजार नै दिगो व्यवसायको आधार भएकाले त्यसको ग्यारेन्टी गरिदिनु सरकारको दायित्व हो ।
मूल्यवृद्धि (मुद्रास्फीति) नियन्त्रण, उपभोक्ताको क्रयशक्ति वृद्धि, र वस्तु तथा सेवाको मागमा निरन्तरता हुनसकेमा व्यवसायका लागि सकारात्मक संकेत भएको व्यवसायीहरुले बताउछन् । नयाँ वर्षमा सरकारले यस्ता नीतिहरू ल्याओस् भन्ने व्यवसायीहरूको अपेक्षा हुन्छ, जसले बजारलाई स्थिर र सुदृढ बनाउन मदत गर्छ ।
व्यवसायको लागि महत्वपूर्ण पक्ष भनेको सरकारी नीति तथा कर प्रणाली हो । उद्योगी तथा व्यवसायीहरूले सरल, पारदर्शी र व्यवसायमैत्री कर प्रणालीको अपेक्षा गर्छन् । करको दर अत्यधिक भएमा लगानी घट्न सक्छ भने अत्यन्त कम भएमा सरकारको आम्दानी प्रभावित हुन्छ । त्यसैले सन्तुलित कर नीति आवश्यक हुन्छ । नयाँ वर्षमा कर छुट, सहुलियत र लगानी प्रोत्साहनका कार्यक्रम ल्याइएमा उद्योग क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उद्योगीहरूको जोड छ ।
त्यस्तै,पूर्वाधार विकास पनि आर्थिक आर्थिक सम्पन्न्ताको महत्वपूर्ण आधार हो । राम्रो सडक, विद्युत्, इन्टरनेट र यातायात प्रणालीले व्यवसाय विस्तारमा ठूलो योगदान पु¥याउँछ । विशेष गरी उद्योग सञ्चालनका लागि स्थायी विद्युत् आपूर्ति र सहज ढुवानी व्यवस्था आवश्यक हुन्छ । नयाँ वर्षमा सरकारले पूर्वाधार विकासमा लगानी बढाओस् भन्ने अपेक्षा गरिन्छ ।लगानीमैत्री वातावरण बनेमा मात्रै रोजगारी सिर्जना र आर्थिक वृद्धि दुवै सम्भव हुने अर्थशास्त्रीहरूको धारणा छ ।
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थिरता, भ्रष्टाचार नियन्त्रण, र प्रशासनिक झन्झट घटाउनु पर्ने आवश्यक छ । लगानीकर्तालाई विश्वास दिलाउने वातावरण बनेमा नयाँ उद्योग स्थापना र रोजगारी सिर्जना बढ्ने जनअपेक्षा रहेको छ ।
अर्को महत्वपूर्ण अपेक्षा भनेको प्रविधिको प्रयोग र नवप्रवर्तन हो । डिजिटल प्रविधि, ई–कमर्स, र आधुनिक उत्पादन प्रणाली अपनाउन सकेमा व्यवसायको दक्षता बढ्छ । नयाँ वर्षमा व्यवसायीहरूले नयाँ प्रविधिमा लगानी गर्ने र आफ्नो उत्पादन तथा सेवा सुधार गर्ने लक्ष्य राखेका हुन्छन् ।
समग्रमा, नयाँ वर्ष व्यवसाय र उद्योग क्षेत्रका लागि नयाँ अवसर र चुनौती दुवै लिएर आउँछ । स्पष्ट आर्थिक योजना, सरकारी सहयोग, र नवप्रवर्तनतर्फको ध्यानले मात्र दिगो विकास सम्भव हुन्छ । त्यसैले आगामी वर्षका लागि व्यवसायीहरूले यथार्थपरक लक्ष्य निर्धारण गरी सशक्त रूपमा अगाडि बढ्नुपर्छ ।
बालेन सरकारले केवल एक राजनीतिक प्रयोगको रूपमा मात्र नभई नेपालको आर्थिक विकासक्रमको महत्वपूर्ण चरणका रूपमा लिन सकिन्छ । यसले व्यवसायीहरुमा नयाँ आशा जगाएको छ, तर ती आशाहरूलाई व्यवहारमा रूपान्तरण गर्न सक्षम नेतृत्व, सुदृढ संस्थागत संरचना र निरन्तर सहकार्य अपरिहार्य हुने व्यवसायीहरू बताउँछन् ।
यदि यो प्रयास सफल भयो भने, यसले नेपालको सम्रग आर्थिक स्थितिमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्छ; अन्यथा, यसले व्यवसायीहरुमा अझ गहिरो निराशा सिर्जना गर्ने जोखिम पनि रहन्छ ।
प्रतिक्रिया