बाँसबारी हाउजिङका सञ्चालक रिजाल भन्छन्– घरजग्गा क्षेत्र सुदृढ बनाउँदा अर्थतन्त्र चलायमान हुन्छ

आइतबार, ०६ बैशाख २०८३, ०९ : ५१

काठमाडौं– बाँसबारी हाउजिङ प्रालिका सञ्चालक आमिर जंग रिजालले घरजग्गा तथा भूमि विकास क्षेत्रलाई व्यवस्थित र संरक्षण गर्न सके नेपालको अर्थतन्त्रमा द्रुत सुधार सम्भव रहेको बताएका छन्।

उनले देशको आर्थिक पुनरुत्थानका लागि छिटो परिणाम दिने क्षेत्रका रूपमा घरजग्गा व्यवसायलाई अघि सार्दै यसमा स्पष्ट नीति र सहजीकरण आवश्यक रहेको उल्लेख गरे।

रिजालले ‘स्मार्ट सिटी’ जस्ता अवधारणाहरूलाई व्यवहारभन्दा बढी प्रचारमा सीमित गरिएको टिप्पणी गर्दै त्यही नाममा विगतमा अनियमितता र आर्थिक दुरुपयोग भएका घटनाहरू भएको दाबी गरे। उनले यस्ता विषयमा राज्यले गम्भीर समीक्षा गरी निष्पक्ष छानबिन गर्नुपर्ने बताए।

उनका अनुसार नागरिकको निजी सम्पत्तिमाथिको अधिकार सुनिश्चित गरिनु आवश्यक छ। विशेषगरी जग्गा कित्ताकाट प्रक्रियामा लगाइएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने उनले बताएका छन्। धेरै नागरिकले आफ्नो सानो जग्गा बिक्री गरेर शिक्षा, आवास र पारिवारिक आवश्यकताहरू पूरा गर्ने भएकाले यस्तो निर्णयमा अवरोध उचित नहुने उनको भनाइ छ।

रिजालले घरजग्गा व्यवसायलाई स्पष्ट कानुनी ढाँचा र कर प्रणालीभित्र ल्याएर सञ्चालन गर्न दिए राज्यलाई ठूलो आर्थिक फाइदा हुने बताए। निजी क्षेत्रले प्लटिङ तथा भूमि विकासमार्फत सडक, ढल, खानेपानी, विद्युत् जस्ता पूर्वाधार आफ्नै लगानीमा निर्माण गर्ने हुँदा सरकारी व्ययभार समेत घट्ने उनले उल्लेख गरे।

उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै पारदर्शी र व्यवस्थित वातावरण सिर्जना गर्न सके रोजगारी वृद्धि, लगानी विस्तार र राजस्व अभिवृद्धिसँगै समग्र अर्थतन्त्र गतिशील बन्ने विश्वास व्यक्त गरे।

 
 
 
आइतबार, ०६ बैशाख २०८३, ०९ : ५१

प्रतिक्रिया