काठमाडौं- सर्किट ब्रेकर नियममा हेरफेरपछि पहिलो कारोबार भएको दिन सेयर बजारमा गिरावट देखिएको छ। १५ प्रतिशत घटबढमा सर्किट ब्रेक हुने नियमपछि पहिलो सेयर कारोबार भएको हो।
सोमबार नेप्से १३.१७ प्रतिशतले घटेर २८२५.२३ विन्दुमा झरेको हो। यस दिन कुल ५ अर्ब ४३ करोडको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १ करोड १६ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको हो।
सोमबार ६५ वटा सेयरको मूल्य बढ्दा १९७ वटाको घटेके र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार १५ प्रतिशतसम्म घट्न वा बढ्न सक्ने सीमाअनुसार सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इनले सो सीमा भेट्टाउँदा पाल्पा सिमेन्ट इन्डस्ट्री र शिखर पावर डेभलपमेन्टको पनि १४.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। त्यस्तै झापा इनर्जीको ११.८८ प्रतिशत उकालो लागेको छ।
तर डोल्टी पावर, एसियन हाइड्रोपावर, नेशनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स भने अधिकतम ५.३५ प्रतिशतसम्म ओर्लिएका छन्।
यस दिन ठूलो परिमाणमा कुनै पनि सेयर कारोबार भएका छैनन्। ३६ करोडको कारोबार भएको होटल फरेस्ट इन सर्वाधिक कारोबार गर्ने पहिलो कम्पनी छ। यसबाहेक सोलु हाइड्रो २९ करोड, नेशनल हाइड्रो २८ करोड, आखुखोला जलविद्युत् २३ करोड र रिलायन्स स्पिनिङ १९ करोडको कारोबार भएको छ।
यस दिन होटल र पर्यटन समूह बढे पनि बाँकी सबै राताम्य रहनपुगेका छन्।
प्रतिक्रिया