पत्रकार महासंघको साधारणसभामा तीन पत्रकार पुरस्कृत

शुक्रबार, १८ बैशाख २०८३, १६ : ५५

काठमाडौँ- नेपाल पत्रकार महासङ्घ चितवन शाखाको २२औँ साधारणसभामा तीनजना पत्रकार पुरस्कृत गरिएको छ । महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन विधामा पुरस्कृत हुनेहरूलाई आज पुरस्कार प्रदान गरेका हुन् ।

मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल, बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा र सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत भएका हुन् । मैयादेवी पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार छ भने अन्य दुई पुरस्कारको राशि ११ हजार रहेको छ ।

पुरस्कार वितरणपछि आचार्यले प्रेस स्वतन्त्रताको पक्षमा महासङ्घ निरन्तर लागिरहने बताए । सरकारी विज्ञापन निजी मिडियालाई नदिँदा देशभरका मिडिया धराशयी हुने भएकाले यसमा सरकारको ध्यान जानुपर्ने भन्दै उनले समग्र पत्रकारहरू पनि आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने बताए । पछिल्ला दिनहरूमा पत्रकारिता र सञ्चारमाध्यममाथि नियन्त्रित हुने खालका गतिविधि भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पत्रकार महासङ्घ, सम्बद्ध सङ्घसंस्था र पत्रकारहरूसँग सहकार्य गरेर काम गर्न महानगर तयार रहेको बताएका छन् । महासङ्घका अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रमपछिको बन्द सत्रमा सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण आचार्यले आफ्ना प्रतिवेदन पेस गरेका थिए ।
 

 
 
शुक्रबार, १८ बैशाख २०८३, १६ : ५५

प्रतिक्रिया