चुनावी सरगर्मी:

उद्योग वाणिज्य महासंघ : ७३ पदका लागि १३७ उम्मेदवार मैदानमा

आइतबार, २० बैशाख २०८३, ११ : ४६

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभा तथा नेतृत्व चयनका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको छ। वैशाख २१ र २२ गते राजधानीमा आयोजना हुने साधारणसभामार्फत महासंघले नयाँ कार्यसमिति चयन गर्नेछ।

निर्वाचन प्रक्रियाअन्तर्गत कुल ७३ पदका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य चार उपाध्यक्षसहित विभिन्न पदका लागि निर्वाचन हुनेछ।

कार्यक्रमअनुसार वैशाख २१ गते ललितपुरस्थित होटेल रोयल टुलिपमा साधारणसभाको उद्घाटन हुनेछ। मतदान प्रक्रिया भने वैशाख २२ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिनेछ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल र सुरकृष्ण वैद्यबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। ढकाल पक्षलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन रहेको छ भने वैद्य पक्षलाई अञ्जन श्रेष्ठको साथ प्राप्त छ।

महासंघका अनुसार यसपटकको निर्वाचनमा कुल २,१५३ मतदाता सहभागी हुनेछन्, जसमा एसोसिएटतर्फका मतदाता संख्या उल्लेख्य रहेको छ। चुनावी प्रतिस्पर्धाले महासंघभित्रको नेतृत्व चयनलाई थप रोचक बनाएको छ।

 
 
 
आइतबार, २० बैशाख २०८३, ११ : ४६

प्रतिक्रिया