ताजा समाचार

सरकारसँग राहतको माग

बढ्दो हवाई इन्धनको मूल्य र घट्दो यात्रु संख्याको मारमा वायुसेवा

आइतबार, २० बैशाख २०८३, १५ : ५०

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघले वायुसेवा कम्पनीहरूलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउँदै हालको चुनौतीपूर्ण अवस्थाबाट उड्डयन क्षेत्रलाई जोगाउन तत्काल कदम चाल्न आग्रह गरेको हो।

संघका अनुसार कोभिड–१९ पछिको असर, अन्तर्राष्ट्रिय परिस्थितिका कारण बढेको हवाई इन्धनको मूल्य र घट्दो यात्रु संख्याले वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेका छन्। इन्धन मूल्यमा भएको तीव्र वृद्धिले सञ्चालन खर्च अत्यधिक बढेको र यसले कम्पनीहरूको वित्तीय अवस्थामा ठूलो दबाब सिर्जना गरेको संघले उल्लेख गरेको छ।

पत्रमा वायुसेवा कम्पनीहरूको कुल खर्चमध्ये इन्धनको हिस्सा पहिले ३०–४० प्रतिशत रहेकामा हाल बढेर ४५–५० प्रतिशत पुगेको उल्लेख गरिएको छ। यसले व्यवसाय सञ्चालनमै कठिनाइ उत्पन्न भएको संघको भनाइ छ।

संघले सरकारसँग विभिन्न शुल्कमा सहुलियत दिन माग गरेको छ। विशेषगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले लिँदै आएका ल्यान्डिङ, पार्किङ, नेभिगेशन, ह्याङ्गर लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरिएको छ।

यस्तै, आन्तरिक उडानमा लाग्ने विमानस्थल सेवा शुल्कसम्बन्धी विद्यमान नियमावली संशोधन गर्नुपर्ने पनि संघको माग छ। हाल अमेरिकी डलरमा तोकिएको शुल्क नेपाली रुपैयाँमै निर्धारण गर्नुपर्ने सुझाव समेत दिइएको छ।

संघले यी कदमहरू तुरुन्त कार्यान्वयन नगरे वायुसेवा कम्पनीहरू थप संकटमा पर्ने र सेवा सञ्चालनमा असर पर्न सक्ने चेतावनी दिएको छ।

687704082_944901765007049_1680363035586427101_n-(1)_PO55fLM86T

687442956_949112238043350_1549683810123508701_n-(1)_wy1cotPGXJ

 
आइतबार, २० बैशाख २०८३, १५ : ५०

प्रतिक्रिया