समाचार

उद्योगी व्यवसायीलाई रवि लामिछानेले भने– ढुक्क भएर लगानी गर्नुस्, डराउनुपर्दैन

आइतबार, २० बैशाख २०८३, १६ : २३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी तथा व्यवसायीलाई देशमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । आर्थिक सुधारका लागि ‘नीति–आधारित सुरक्षा’ को नयाँ मोडेल अघि सार्दै व्यवसायीलाई अब राजनीतिक संरक्षणको आवश्यकता नपर्ने समेत दाबी गरेका छन्।

निजी क्षेत्रसँगको संवादमा उनले सरकारको प्राथमिकता राजनीति होइन, अर्थ–राजनीति भएको उल्लेख गर्दै लगानी, रोजगारी र वैदेशिक पूँजी आकर्षणमै केन्द्रित हुने स्पष्ट पारे। “व्यवसाय चलाउन नेताको ढोका ढकढकाउनुपर्ने युग अन्त्य हुन्छ, अब राज्यको नीतिले नै सुरक्षा दिन्छ,” उनले भने।

लामिछानेले सूचना प्रविधिलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने, स्टार्टअपका लागि कानुनी अवरोध हटाउने र पूर्वाधार निर्माणलाई ‘इमर्जेन्सी मोड’ मा लैजाने तयारी रहेको जानकारी दिए। साथै, आर्थिक अपराधलाई फौजदारीभन्दा आर्थिक दृष्टिकोणबाट समाधान गरिने तर ठूला घोटालामा कडाइ गरिने उनको भनाइ छ।

उनले नेपालको कूटनीति पनि अब आर्थिक नतिजामा आधारित हुने बताउँदै वैदेशिक लगानीकर्तालाई सुरक्षित र खुला सन्देश दिन सरकार प्रतिबद्ध रहेको बताए।

 
आइतबार, २० बैशाख २०८३, १६ : २३

प्रतिक्रिया