विश्व स्वास्थ्य सङ्गगठन (डब्ल्यूएचओ) ले आन्ध्र महासागरमा यात्रा गरेको एउटा पानीजहाजमा हान्टा भाइरसको सम्भावित प्रकोपका कारण तीन जनाको मृत्यु भएको बीबीसीलाई बताएको छ।
डब्ल्यूएचओका अनुसार एक जनामा सङ्क्रमणको पुष्टि भएको छ भने बिरामी परेका अन्य पाँच जनामा पनि सङ्क्रमण भएको आशङ्का गरिएको छ। अधिकारीहरूले त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।
आर्जेन्टिनाबाट केप भर्ड गएको एमभी होन्डिअस नामक उक्त क्रूज जहाजमा हान्टा भाइरस फैलिएको आशङ्का गरिएको हो। दक्षिण अफ्रिकी अधिकारीहरूका अनुसार उक्त जहाजमा विभिन्न देशका १५० जति पर्यटक सवार थिए।
सो जहाज टूर कम्पनी ओशनवाइड एक्सपिडिशन्सले सञ्चालन गर्छ। सो कम्पनीको वेबसाइटमा प्रकाशित विवरणअनुसार २० मार्चमा आर्जेन्टिनाको उस्वाइआबाट प्रस्थान गरेको उक्त पानीजहाज ४ मे मा केप भर्डमा पुगेको छ।
दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित एउटा अस्पतालको सघन उपचार कक्षमा ६९ वर्षीया एक ब्रिटिश महिलालाई उपचारका लागि भर्ना गरिएको छ। सेन्ट हेलेनाबाट असेन्शन द्वीपतिर जाने क्रममा उनी बिरामी परेकी थिइन्।
दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ताका अनुसार ूप्रयोगशालामा गरिएको परीक्षणको नतिजाले उनलाई हान्टा भाइरस भएको देखाएको छ।ू ती व्यक्तिलाई असेन्शनस्थित अस्पतालबाट जोहानेस्बर्गस्थित अस्पतालमा सारिएको छ।
जहाजमा बिरामी परेका एक डच दम्पतीको मृत्यु भएको दक्षिण अफ्रिकी अधिकारीहरूले गरेका छन्। जहाज सेन्ट हेलेना टापु आइपुग्दा ७० वर्षीय व्यक्तिको मृत्यु भएको थियो भने उनकी ६९ वर्षीया पत्नीको जोहानेस्बर्गस्थित अस्पतालमा मृत्यु भयो। मृत्यु भएका अर्का एक व्यक्ति पनि नेदरल्यान्ड्सकै नागरिक भएको अधिकारीहरूले बताएका छन्। उनी उक्त दम्पतीसँग ूनिकटू मानिएको छ।
ओशनवाइड एक्सपिडिशन्सका अनुसार चालकदलका दुई सदस्यलाई पनि आकस्मिक उपचार गर्नुपरेको थियो। तर केप भर्डका अधिकारीहरूले ती दुईलाई जहाजबाट बाहिर निस्किने अनुमति दिएका छैनन्।
‘सबै यात्रुहरूलाई जहाजबाट ओराल्न र चिकित्सकीय स्क्रीनिङ गर्नका लागि स्थानीय स्वास्थ्य अधिकारीहरूसँग समन्वय गर्नुपर्छ। हामी उनीहरूसँग परामर्शमा छौँ,’ ओशनवाइड एक्स्पिडिशन्सले भनेको छ।
डब्ल्यूएचओका अनुसार हान्टा भाइरस सङ्क्रमणको सम्बन्ध सामान्यतया पर्यावरणीय कारक तत्त्वहरूसँग हुन्छ।
सङ्क्रमित मुसा र अन्य जीवको मलमूत्रसँग संसर्ग हुँदा मानिसलाई पनि हान्टा भाइरस सर्ने सम्भावना हुन्छ।
कहिलेकाहीँ दुर्लभ अवस्थामा पनि सो भाइरस मानिसबाट मानिसमा सर्न सक्छ। त्यसो हुँदा ‘श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या’ हुन्छ।
हान्टा भाइरस सङ्क्रमण हुँदा बिरामीलाई ‘सावधानीपूर्वक निगरानी, सहयोग र उपचार’ आवश्यक हुने डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओले पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण फैलिएको हुन सक्ने घटनाबारे ूविस्तृत अनुसन्धान र प्रयोगशालामा थप परीक्षण भइरहेकोू बीबीसीलाई बताएको छ।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया