काठमाडौं- स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा आएको पुस्तान्तरणले नयाँ युगको संकेत गरेको भन्दै निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोच परिवर्तन गर्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उनले ३६ वर्षका प्रधानमन्त्री र आफू ५० वर्षमै मन्त्रिपरिषद्को ‘ज्येष्ठ’ सदस्य हुनु ठूलो परिवर्तन भएको उल्लेख गरे।
उनले प्रशासनिक तथा राजनीतिक संयन्त्रमा रहेको विचौलिया प्रवृत्ति र भ्रष्टाचारप्रति सरकार कडा रूपमा प्रस्तुत हुने स्पष्ट पार्दै पहुँच र भनसुनको संस्कृतिको अन्त्य गरिने बताए।
वाग्लेले विगतमा नियामक निकाय र ब्युरोक्रेसीका कारण इमानदार व्यवसाय गर्न कठिन वातावरण रहे पनि अब त्यसमा सुधार गरिने प्रतिबद्धता जनाए। निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले देश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
नयाँ जनादेशसँगै निजी क्षेत्रले पनि पारदर्शिता, प्रविधिको प्रयोग र उद्यमशीलतामा आधारित नयाँ दृष्टिकोण अपनाउनुपर्नेमा उनले जोड दिए। सरकारले व्यावसायिक वातावरण सुधार र सुशासन प्रवर्द्धनमा प्राथमिकता दिने उनले स्पष्ट पारे।
प्रतिक्रिया