काठमाडौं- नेपालमै निर्माण गरिएको पहिलो इलेक्ट्रीक स्कुटर ‘पी टु’ हाल विभिन्न स्थानमा सडक परीक्षणमा रहेको छ। सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त लगानीमा तयार भएको यो स्कुटर देशका विभिन्न भू–भागमा गुडाएर परीक्षण भइरहेको हो।
पछिल्लो समय ‘पी टु’ कुलेखानी–देउराली उकालो सडकमा परीक्षण भइरहेको देखिएको छ। कम्पनीले यसअघि नै देशका एक दर्जनभन्दा बढी स्थानमा ७ हजार किलोमिटरभन्दा बढी दूरी तय गरेर परीक्षण गरिसकेको जनाएको छ।
सार्वजनिक तस्बिरहरूका आधारमा हेर्दा ‘यात्री पी टु’ झट्ट हेर्दा मोटरसाइकलजस्तो देखिने डिजाइनमा तयार गरिएको छ, जसले यसलाई अन्य स्कुटरभन्दा फरक बनाएको छ। स्कुटरमा १४ इन्चको ह्वील, मिड–माउन्ट मोटर र एलईडी हेडल्याम्प जस्ता फिचर समावेश गरिएको छ। यद्यपि, मोटर पावर र ब्याट्री क्षमताबारे कम्पनीले हालसम्म खुलाएको छैन।
कम्पनीले ‘पी टु’ कहिले औपचारिक रूपमा सार्वजनिक गर्ने भन्नेबारे मिति घोषणा गरेको छैन। तर, लामो समयदेखि भइरहेको परीक्षणका कारण अब छिट्टै बजारमा ल्याइने अनुमान गरिएको छ।
उल्लेखनीय कुरा के छ भने ‘यात्री पी टु’ को सम्पूर्ण डिजाइन तथा डेभलपमेन्ट नेपालमै गरिएको हो। यात्री डिजाइन स्टुडियोले यसअघि ‘यात्री पी जिरो’ र ‘यात्री पी वान’ मोटरसाइकल सार्वजनिक गरिसकेको छ, जसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ पहिचान बनाएको छ।
प्रतिक्रिया