अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका साना ७ वटा इरानी ‘फास्ट बोट’ माथि आक्रमण गरेको बताएका छन्।
वाशिङ्टनले बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फसेका जहाजहरूलाई निकाल्न त्यसो गरेको बताइएको छ।
संयुक्त अरब एमिरेट्स (यूएई) र दक्षिण कोरिया दुवैले सोमवार पानीजहाजहरूमाथि आक्रमण भएको बताएका थिए।
इरानको आक्रमणपछि फुजेराको इन्धन बन्दरगाहमा आगलागी भएको यूएईले जनाएको छ।
शिपिङ कम्पनी मेर्स्कले बीबीसीलाई बताएअनुसार अमेरिकी सेनाको सुरक्षामा उसको एउटा अमेरिकी ध्वजावाहक पानीजहाज सफलतापूर्वक स्ट्रेट अफ होर्मुजबाट निस्केको छ।
ट्रम्पले अमेरिकी सुरक्षा कदमलाई ‘प्रोजेक्ट फ्रीडम’ भनेका छन्।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले त्यहाँ भएका घटनाले ‘राजनीतिक सङ्कटको कुनै सैन्य समाधान नभएको स्पष्ट पारेको ’बताएका छन्।
उनले भने, ‘प्रोजेक्ट फ्रीडम प्रोजेक्ट गतिरोध हो ।’
अमेरिका र इजरेलले गत फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेपछि स्ट्रेट अफ होर्मुज धेरै हदसम्म अवरुद्ध छ।
तेहरानले प्रतिक्रियास्वरूप विश्वको २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्याँसको ढुवानी हुने उक्त महत्त्वपूर्ण जलमार्ग अवरुद्ध गरेको छ।
एप्रिलको सुरुमा अमेरिका र इरानले युद्धविरामको घोषणा गरेपछि इरानले संयुक्त अरब एमिरेट्स लगायत खाडी मुलुकमा ड्रोन र क्षेप्यास्त्र आक्रमण बन्द गरेको छ। तर त्यसयता निकै कम जहाजले मात्र उक्त जलमार्ग हुँदै ढुवानी गरेका छन्।
अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको छ।
ट्रम्प भन्छन्, ‘हामीले ७ वटा साना डुङ्गालाई निशाना बनाएका छौँ। जसलाई उनीहरूले फास्ट बोट भन्छन्। अब उनीहरूसँग त्यही मात्र बाँकी छन्।’
अमेरिकी सेनाले ती डुङ्गामा आक्रमण गर्न हेलिकप्टरको प्रयोग गरेको बताएको छ।
इरानको सरकारी मिडियाले पछि अमेरिकाले स्पीड बोटमा आक्रमण गरेको भन्ने ट्रम्पको भनाइको खण्डन गरेको छ।
एक सैन्य स्रोतलाई उद्धृत गर्दै तास्निम समाचार संस्थाले दुई साना मालवाहक जहाजहरूमाथि आक्रमण भएको र त्यस क्रममा ५ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
यसअघि अमेरिकाले सोमवार आफ्नो जलसेनाका र अमेरिकी ध्वजावाहक व्यापारिक जहाजहरूले उक्त जलमार्गबाट पार गरेको बताएको थियो।
इरानले उक्त दाबी ‘पूर्ण रूपमा झुटो’ भएको बताएको छ र उसको सेनाले अमेरिकी युद्धपोतमाथि चेतावनीपूर्ण गोली चलाएको जनाएको छ। अमेरिकी सेनाले त्यो कुरा अस्वीकार गरेको छ ।
शिपिङ कम्पनी मेर्स्कका अनुसार अमेरिका र इजरेलले फेब्रुअरीको अन्त्यमा इरानमा आक्रमण गरेपछि उसको अमेरिकी झन्डावाहक जहाज अलायन्स फेअरफ्याक्स खाडीमा फसेको थियो।
उसले अमेरिकी सेनाको सुरक्षामा उक्त जहाज स्ट्रेट अफ होर्मुजबाट निस्किएको बताएको छ।
उक्त कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘अमेरिकी सैन्य सहायताले उक्त जहाजलाई पर्सिएन खाडी क्षेत्रबाट बाहिर निस्कने अवसर दिएको छ।’
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया