काठमाडौं- एम्बार्क कलेज ले ग्रोथ फोरम नेपाल २०२६ अन्तर्गत “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम विकासमार्फत प्रभावपार्ने” मूल नारासहित आर्थिक वृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।
ललितपुरस्थित होटल हिमालय मा आयोजित सम्मेलनमा नेपाल तथा विदेशका नीति निर्माता, उद्योगी, प्राज्ञिक, लगानीकर्ता र विकास साझेदारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटनपछि एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुर ले स्वागत मन्तव्य राख्दै “राष्ट्र संयोगले होइन, योजनाले बन्छ” भन्ने धारणा प्रस्तुत गरे । उनले एसएमईहरूलाई राष्ट्र निर्माणको मेरुदण्डको रूपमा व्याख्या गर्दै अनुसन्धान र व्यवहारिक शिक्षाबीचको दूरी कम गर्नुपर्नेमा जोड दिएका छन् । उनले एम्बार्क रिसर्च रिभ्यु (ईआरआर) मार्फत नेपाल केन्द्रित अनुसन्धान संस्कृति निर्माणमा कलेजको प्रतिबद्धतालाई पनि पुनरेसित गरे ।
कार्यक्रममा राष्ट्रिय वृद्धिका अभियन्ताका रूपमा विश्वविद्यालय शिर्षकमा अतिथि मन्तव्य राख्दै काठमाडौं विश्वविद्यालयका अर्थशात्री प्राध्यापक प्रा. डा. अच्युत प्रसाद वाग्ले ले नेपालमा नीति बहस बढी भए पनि समृद्धिको व्यवहारिक कार्यान्वयन कमजोर रहेको टिप्पणी गरे । उनले बैंकिङ प्रणालीमा ठूलो तरलता हुँदा पनि उत्पादन र रोजगारमा लगानी हुन नसकेको उल्लेख गर्दै आर्थिक छलफललाई राजनीतिक प्रभावबाट मुक्त गर्न आग्रह गरेका छन् ।
मुख्य वक्ता हेल्थ फोर्लामेन्ट, भारतका संस्थापक डा. रजेन्द्र प्रताप गुप्ता ले जर्मनीको “मित्टलस्टाण्ड” मोडल उदाहरण दिँदै नेपालले महिला नेतृत्व, युवा उद्यमशीलता, डिजिटल पहुँच र हरित ऊर्जालाई केन्द्रमा राखेर आर्थिक वृद्धि अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले एआई प्रविधिलाई प्रतिस्पर्धा होइन, सिर्जनाको अवसरको रूपमा प्रयोग गर्नुपर्ने बताए ।

सम्मेलनअन्तर्गत आयोजित पहिलो प्यानल छलफलमा नेपाल उद्योग परिसङ्घ का अध्यक्ष विरेन्द्र राज पाण्डेय, नेपाल महिला उद्यमी सङ्घ महासङ्घ की अध्यक्ष दर्शना श्रेष्ठ लगायतले एसएमईमैत्री नीति, डिजिटल ‘सिङ्गल डोर’ प्रणाली, महिला उद्यमीका चुनौती तथा स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रणालीको आवश्यकता औंल्याएका छन् ।
त्यसैगरी, दोस्रो प्यानल छलफलमा भेन्चर क्यापिटल, ग्रामीण महिला उद्यमशीलता, व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको जटिलता, र प्रादेशिक आवश्यकता अनुसार फरक आर्थिक नीति आवश्यक रहेको विषयमा गहन बहस भएको थियो ।
कार्यक्रममा उज्ज्वल अनु चौधरी ले एआई युगमा निरन्तर सिकाइ अपरिहार्य भएको उल्लेख गर्दै राष्ट्रिय स्तरमै एआई साक्षरता अभियान चलाउनुपर्ने आवश्यकता औंल्याए ।

सम्मेलनकै अवसरमा “एम्बार्क रिसर्च रिभ्यु वोल्यम २” सार्वजनिक गरिएको थियो । आयोजकका अनुसार उक्त जर्नल नेपाल केन्द्रित अनुसन्धान, नीतिगत बहस तथा प्राज्ञिक उत्कृष्टताको प्रतीकका रूपमा अघि बढाइनेछ ।
कार्यक्रमका प्रमुख अतिथिले स्थानीय उत्पादनको ब्रान्डिङ, सीपमूलक शिक्षा, उद्यमशील वातावरण तथा एसएमई प्रवद्र्धनलाई ललितपुर महानगरपालिकाको प्राथमिकतामा राखिएको जानकारी दिए ।
सम्मेलनको निष्कर्षस्वरूप डिजिटल ‘एउटै ढोका नीति’, स्थानीय आवश्यकताअनुसारको शिक्षा, विकेन्द्रित सुशासन र बैंकिङ क्षेत्रमा थन्किएको तरलतालाई उद्योग, निर्यात तथा रोजगारीमा रूपान्तरण गर्नुपर्ने चार प्रमुख प्राथमिकता तय गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया