ताजा समाचार

संघीय संसद

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने

सोमबार, २८ बैशाख २०८३, ०७ : ४५

काठमाडौं संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी प्रवक्ता गिरिले दिएका छन्।

संसद् सचिवालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभाको बैठकमा सुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रबारे जानकारी दिइनेछ। त्यसपछि मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। 

बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गर्ने तयारी गरिएको छ। यस्तै प्रतिनिधिसभा नियमावलीको मस्यौदा पनि बैठकमै पेस हुनेछ।

यसपटकको अधिवेशनमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेशहरू पनि पेस गर्ने कार्यसूची रहेको छ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ लगायत रहेका छन्। 

यी अध्यादेशहरू प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गरिने संसद् सचिवालयले जनाएको छ।

सोमबार, २८ बैशाख २०८३, ०७ : ४५

प्रतिक्रिया