३३ औं स्मृति दिवस

मदन भण्डारीसँग जोडिएको रहस्यमयी परिघटना : भण्डारीको एकता प्रस्ताव अस्वीकारदेखि माधव–प्रचण्ड मिलापसम्म

आइतबार, ०३ जेठ २०८३, ११ : ४०

काठमाडौं- आज जेठ ३ गते नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ३३ औं स्मृति दिवस दिवस मनाइरहँदा नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदान स्मरण गर्ने गरिन्छ । उनै भण्डारीले आफ्नै अगुवाइमा मुलुकको कम्युनिस्ट आन्दोलनका परम्परागत मूल्य मान्यता परिष्कृत गर्दै शान्तिपूर्ण मार्ग निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

पूर्वी युरोपमा समाजवादी सत्ताको पतन र तत्कालीन शोभियत संघ विघटनपछि विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटलाई हल गर्न भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नामक शान्तिपूर्ण राजनीतिक कार्यक्रम अघि सारेका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनले भण्डारीको शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने राजनीतिक कार्यक्रम जबज लागू गर्दै बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्था अंगीकार गरेको थियो । पञ्चायती व्यवस्थापछि भण्डारीले शान्तिपूर्ण कालमा लामो समय पार्टीको नेतृत्व सञ्चालन गर्न नपाए पनि उनको लोकप्रियता अत्यधिक थियो । उनले जबजमार्फत शान्तिपूर्ण राजनीतिक कार्यक्रम ल्याएर एमालेलाई  संसदिय राजनीतिमा ल्याएका थिए।

त्यसको करिब एक वर्षपछि २०५० जेठ ३ गते पार्टी कार्यक्रममा चितवन जाने क्रममा भण्डारीको दासढुंगामा रहस्यमय जिप दुर्घटना भएर निधन भयो । उनको निधन र्दुघटना भएर हो या हत्या गरिएको हो, अहिलेसम्म प्रमाणित हुन नसकेर रहस्यमयकै गर्भमा रहेको छ । भण्डारीले पाँचौं महाधिवेशनमा जबज ल्याउँदै गर्दा उनले वृहत कम्युनिष्ट एकताको अवधारणा अघि सारेर हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि सहकार्यको प्रस्ताव अघि सारेको पाइएको छ  । 

२०४९ सालमा भण्डारीले तत्कालीन एकताकेन्द्रका महासचिव रहेका प्रचण्डलाई पार्टी मुखपत्र जनादेशका पत्रकार महेश्वर दाहालमार्फत पार्टी एकताको प्रस्ताव पठाएका थिए । तर प्रचण्डले बेवास्ता गर्दा भण्डारीको प्रयास सफल हुन सकेन । भण्डारीको प्रस्ताव प्रचण्ड समक्ष पुर्याउँदा प्रचण्डले भने ठाडै अस्वीकार गर्दै सम्पर्कमै आउन नचाहेको उनै महेश्वर दाहाल बताउँछन् । 

‘२०४९ सालमा एमालेको पाँचौं महाधिवेशनको दस्तावेज लेखनको क्रममै अति व्यस्तताबीच भण्डारीले हामीलाई उहाँको निवास नक्सालमा भेटघाटका लागि बोलाउनु भएको थियो ।’, तत्कालीन अवस्थामा जनादेशको रिपोर्टिङका लागि भएको भेट स्मरण गर्दै दाहाल भन्छन्, ‘उहाँ(मदन भण्डारी)ले प्रचण्ड र निर्मल लामा दुबैलाई एकताको प्रस्ताव पठाउँदै त्यसका लागि बरु पार्टी महाधिवेशन समेत सार्न तयार भएको बताउनुभएको थियो ।’

त्यसबारे प्रचण्डसँग सम्पर्क गरी भण्डारीको प्रस्ताव सुनाउँदा प्रचण्डले उल्टै बाहिर रहेको भन्दिनु र अर्का नेता निर्मल लामा समक्ष पनि भण्डारीको एकता प्रस्ताव नलैजानु भन्दै टाढिएको महेश्वर दाहालले स्मरण गरे । त्यसपछि पनि जनादेशको कार्यालयमा मदन पत्नी पूर्वराष्ट्रपति विद्याले पटक पटक सम्पर्क गर्न खोजेपनि प्रचण्डको निर्देशन बमोजिम उपत्यका बाहिर रहेको बताउन बाध्य भएको दाहालको स्मरणमा ताजै छ । 

आज मदन भण्डारीको ३३ औं स्मृति दिवसमा उनको स्मरण गर्दैगर्दा तत्कालीन अवस्थामा प्रचण्डले एकता प्रस्ताव स्वीकार गरेर अघि बढेको भए नेपालको कम्युनिष्ट आन्दोलनको अवस्था कस्तो हुन्थ्यो होला ? दाहालले उजागर गरेको यस परिघटनाले यस्तै अनुत्तरित प्रश्न उब्जाएको छ । प्रचण्ड किन भण्डारीको एकता प्रस्ताव अस्वीकार गरेर भेट्न समेत चाहेनन् होला ? यी र यस्तै कारणले नै कम्युनिष्ट आन्दोलनले आजको दुरावस्था भोग्नु परेको त होइन ? त्यसयता विकसित घटनाक्रमले निकै गम्भीर प्रश्न र संशय बढाउँछ । 

वामपन्थी नेता राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’नामक पुस्तकमा उल्लेख गरिए अनुसार एमाले नेता माधव नेपालले पार्टी बैठकमा भारतको सहयोगमा राजा विरुद्ध शसस्त्र संघर्ष गर्ने योजना सुनाउँदा भण्डारीले त्यसलाई अस्वीकार गरेका थिए । एमालेको पाँचौं महाविधवेशनको पूर्वसन्ध्यामा माधव नेपालले यस्तो प्रस्ताव पार्टी बैठकमा गरेका थिए । त्यसको एक वर्ष नपुग्दै भण्डारीको दासढुंगामा रहस्यमय निधन भएको थियो । भण्डारीको एकता प्रस्ताव अस्वीकार गरेका प्रचण्डले पनि भण्डारीको निधन भएको दुई वर्षभित्रैमा दश वर्षे जनयुद्ध घोषणा गरेका थिए ।

अहिले जनयुद्धमार्फत शान्ति प्रक्रियामा आएका प्रचण्डले उनै माधव नेपालसँग पार्टी एकता गर्दै नेकपा बनाएका छन् । मदन भण्डारीको एकता प्रस्ताव, माधव नेपालको प्रस्ताव र प्रचण्डको जनयुद्ध र माधव नेपालसँग मिलाप संयोग हो या सुनियोजित त्यो भने अझै पनि रहस्यमय नै छ ।

स्मरणीय कुरा के छ भने भण्डारीले ४९ सालमै अंगीकार गरेको जबजको मूल मर्म आत्मसात गर्दै शान्तिपूर्ण प्रतिस्पर्धात्मक मार्गमा नेपालको सिंगो कम्युनिष्ट आन्दोलन छ । तर, शीर्ष नेताहरुकै असक्षमताकै उपज पटक पटक जनताले दिएको अवसर गुमाउँदा यसपटक भने लज्जास्पद पराजय व्यहोरेका छन् ।

 
आइतबार, ०३ जेठ २०८३, ११ : ४०

प्रतिक्रिया