प्राध्यापकहरुलाई अनुन्धानात्मक कार्यमा लाग्न आग्रह

सोमबार, ०४ जेठ २०८३, १३ : ५४

 काठमाडौं - विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा महेन्द्र बहुमुखी क्याम्पस दाङको अनुसन्धान व्यवस्थापन इकाईको आयोजनामा प्राध्यापकहरुका लागि सञ्चालित चार दिने गुणस्तरीय लेखनका लागि अनुसन्धान विधि तथा तथ्यांक विश्लेषण सम्बन्धी तालिम आजदेखि सुरु गरिएको छ । उक्त तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति  प्रा.डा सुधनकुमार पौडेलले शैक्षिक संस्थाहरुलाई अनुसन्धानका नमूना केन्द्रहरु बनाउनुपर्ने र त्यसका लागि प्राध्यापकहरुले अनुसन्धानात्मक गतिविधिहरु बढाउनुपर्ने बताएका छन् । 

 प्राडा पौडेलले विश्वविद्यालय अनुदान आयोगले अनुसन्धानमा लगानी बढाउँदै लगेकाले क्याम्पस तथा प्राध्यापकहरुले त्यसको भरपुर उपयोग गर्न सक्नुपर्ने बताए । उनले प्राध्यापकहरुले प्राध्यापनका साथै गहन अनुसन्धानात्मक लेख प्रकाशन गरी राज्यलाई नीति निर्माणमा समेत सहयोग गर्नुपर्ने र त्यसका लागि नैतिकतामा आधारित गहन अनुसन्धान गर्न तथा अनुसन्धानात्मक लेखहरु प्रकाशनमा जुट्न तालिममा सहभागी प्राध्यापकहरुलाई आह्वान गरे । 

कार्यक्रमका विशिष्ट अतिथि क्याम्पस प्रमुख डा. नारायण पन्थीले क्याम्पसले अनुसन्धान व्यवस्थापन इकाईमार्फत अनुसन्धानात्मक गतिविधि बढाउने प्रयास गरिरहेको र त्यसका लागि प्राध्यापकहरुको सक्रियताको खाँचो औंल्याए । त्रिवि प्राध्यापक एकाई समिति सभापति तीर्थराज न्यौपाने, स्ववियु सभापति दिपेश डिसी, अनुसन्धान व्यवस्थापन इकाई निर्देशक सुदर्शन रिजाल तथा उपप्राध्यापक लालमणि पोख्रेलले क्याम्पसमा कार्यरत प्राध्यापकहरुले अनुसन्धानात्मक क्षमता विकास अवसरको उपयोग गर्दै क्याम्पसले हरेक वर्ष अनुसन्धान जर्नल प्रकाशन गर्नुपर्ने, अनुसन्धान गतिविधिहरु बढाउनुपर्ने र विद्यार्थीलाई पनि अनुसन्धान कार्यमा जोडेर लैजानुपर्ने बताएका थिए । 
अनुसन्धान व्यवस्थापन इकाईको आयोजनामा शुरु भएको ४ दिनसम्म चल्ने गुणस्तरीय लेखनका लागि अनुसन्धान विधि तथा तथ्यांक विश्लेषणसम्वन्धी तालिममा महेन्द्र बहुमुखी क्याम्पस, राप्ती बबई क्याम्पस, देउखुरी बहुमुखी क्याम्पस, ऐरावती बहुमुखी क्याम्पस, सिद्धरन्ननाथ क्याम्पस र अम्बिकेश्वरी क्याम्पसमा प्राध्यापनरत ४० जना प्राध्यापकहरुको सहभागिता छ । तालिमको श्रोतव्यक्तिहरुमा सहप्राध्यापक ज्ञानमणि अधिकारी, उप प्राध्यापकहरु नवीन अधिकारी डा। नारापण पन्थी, राजेश केशर खनाल, सन्तोष क्षेत्री, सुदर्शन रिजाल, अरुण सुवेदी र रविन दाहाल रहेका छन् ।  

सोमबार, ०४ जेठ २०८३, १३ : ५४

प्रतिक्रिया