विधि र प्रक्रिया अनुसार आएका रिट नरोक्न आदेश

सोमबार, ०४ जेठ २०८३, १४ : ३५

काठमाडौं- विधि र प्रक्रियाअनुसार दर्ता हुन आएका रिट निवेदनहरू दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले  रिट नरोक्न आदेश दिएकी छन्।

उनले गत वैशाख २३ र २५ गतेलगायत विभिन्न मितिमा दर्ता हुन आएका रिट निवेदनहरू तत्काल दर्ता गर्न निर्देशन दिइन् । कानुन व्यवसायीहरूले दर्ताका लागि ल्याएका रिट निवेदनहरू दरपीठ गरिएको तथा दरपीठविरुद्धका निवेदनसमेत दर्ता नगरिएको गुनासोपछि यस्तो आदेश दिइएको हो।

कामु प्रधानन्यायाधीश मल्लले दर्ता भएका सबै रिट निवेदनहरू जेठ ५ गतेका लागि पेसीमा चढाउनसमेत आदेश दिइन् ।

आदेशमा भनिएको छ, “कानुनले तोकेको विधि र प्रक्रियाबमोजिम अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोमा अवरोध र अदालतप्रतिको जनआस्थामा असर पार्ने कार्य हो।”

उनले संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ अनुसार आवश्यक निर्देशन दिनुपर्ने अवस्था रहेको उल्लेख छ।

सर्वोच्च अदालत नियमावलीअनुसार दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा मुख्य रजिष्ट्रारलाई दरपीठ गर्ने अधिकार भए पनि विशेष परिस्थितिमा प्रधानन्यायाधीशको निर्देशन आवश्यक हुने व्यवस्था रहेको पनि आदेशमा उल्लेख छ।

सोमबार, ०४ जेठ २०८३, १४ : ३५

प्रतिक्रिया