संसदीय सुनुवाइ समितिको बैठक

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा अनुमोदित

मंगलबार, ०५ जेठ २०८३, १६ : ३९

काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ। मंगलबार बसेको समितिको बैठकले उनको नाम अनुमोदन गरेसँगै अब नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ।

समितिले एकैदिन शर्माविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल गर्दै उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीशसँग समेत संवाद गरेको थियो।

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद् बैठकले शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। न्याय परिषद्ले सिफारिस गरेका ६ जनामध्ये उनी चौथो वरीयतामा रहेका थिए।

परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पछि पार्दै शर्मालाई प्रधानन्यायाधीशका लागि छनोट गरेको हो।

डा. शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। पर्सामा जन्मिएका शर्मा २०९२ असार ३ गते ६५ वर्ष पुग्नेछन् र उनी २०८९ वैशाखसम्म सर्वोच्च अदालतको नेतृत्वमा रहनेछन्।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका उनले भारतको पुने विश्वविद्यालयबाट स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालय बाट श्रमसम्बन्धी कानुनमा विद्यावारिधि गरेका छन्।

 
मंगलबार, ०५ जेठ २०८३, १६ : ३९

प्रतिक्रिया