काठमाडौं- डिस्टङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६ का अवसरमा काठमाडौं, चितवन, पोखरा, बुटवल, हेटौंडा र इटहरीका सडकहरू उत्साहले जीवन्त बने, जहाँ ७०० भन्दा बढी रेट्रो तथा मोडर्न–रेट्रो मोटरसाइकल राइडरहरूले सहभागिता जनाए । FORE Nepal ले ट्रायम्फ मोटरसाइकल्स नेपाल सँगको सहकार्यमा हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमले नेपालमा विश्वव्यापी च्यारिटी राइडको रूपमा नयाँ उपलब्धि हासिल गरेको छ ।
यस वर्षको राइडले पुरुषहरूको मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतना फैलाउनुका साथै सहयोग संकलनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ ।
२०१२ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना गरिएको डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड (DGR) एक विश्वव्यापी अभियान हो, जसले क्लासिक र भिन्टेज मोटरसाइकलप्रेमीहरूलाई एउटै उद्देश्यका लागि एकताबद्ध गर्दै पुरुषहरूको मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सर सम्बन्धी अध्ययनका लागि सचेतना फैलाउनुका साथै सहयोग जुटाउने कार्य गर्दै आएको छ ।
आज DGR विश्वका १०० भन्दा बढी देशहरूमा मनाइन्छ, जहाँ सहयोग, समुदाय र भातृत्वको भावनाले राइडरहरूलाई एकसाथ जोड्दै यसलाई सामाजिक प्रभाव सिर्जना गर्ने महत्वपूर्ण विश्वव्यापी अभियानको रूपमा स्थापित गरेको छ ।
DGR को उद्देश्य केवल मोटरसाइकलिङ मात्र नभई यसले पुरुषहरूको स्वास्थ्यबारे खुला संवादलाई प्रोत्साहित गर्दै मानसिक सुस्वास्थ्यलाई प्राथमिकता दिन प्रेरित गर्छ । साथै, पुरुषहरूले सामना गर्ने मानसिक स्वास्थ्य चुनौतीहरूप्रति रहेको सामाजिक गलत सोच हटाउँदै जीवनरक्षामा सहयोग पुर्याउने र आवश्यक क्षेत्रमा विश्वव्यापी रूपमा कोष संकलन गर्ने कार्यमा योगदान गर्दै आएको छ ।
यस वर्ष नेपालमा आयोजित राइडलाई ट्रायम्फ मोटरसाइकल्स नेपालले गर्वका साथ समर्थन गरेको थियो, जसले DGR सँग ट्रायम्फको दीर्घकालीन विश्वव्यापी साझेदारीलाई झल्काउँछ । ट्रायम्फ मोटरसाइकल्स यस अभियानको एक प्रमुख अन्तर्राष्ट्रिय साझेदार रहँदै आएको छ, जसले विभिन्न देशहरूमा यस अभियानप्रतिको सचेतना र सहभागिता विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
DGR २०२६ नेपालमा यस वर्ष उल्लेखनीय रूपमा विस्तार भएको थियो, जहाँ ट्रायम्फ नेपालको सहकार्यमा विभिन्न सहरहरूमा एकैसाथ राइडहरू आयोजना गरियो। यसले यस अभियानप्रति देशभर बढ्दो सहभागिता र समर्थनलाई स्पष्ट रूपमा झल्काउँछ ।
DGR नेपाल २०२६ सहभागिता विवरणः
● काठमाडौंः २०० भन्दा बढी राइडर
● चितवनः १५० भन्दा बढी राइडर
● पोखराः १०० भन्दा बढी राइडर
● इटहरीः १०० भन्दा बढी राइडर
● बुटवलः ५० भन्दा बढी राइडर
● हेटौंडाः ५० भन्दा बढी राइडर
नेपालका राइडरहरूले संयुक्त रूपमा विश्वव्यापी DGR कोष संकलन अभियानमा USD १,००० भन्दा बढी योगदान पुर्याएका छन् । कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका लागि अष्ट्रेलियाका राजदूतको उपस्थितिले यस वर्षको आयोजनालाई थप गरिमामय बनाउँदै नेपालमा DGR अभियानप्रति बढ्दो अन्तर्राष्ट्रिय ध्यान र मान्यतालाई उजागर गरेको छ ।
कार्यक्रमबारे बोल्दै FORE Nepalअध्यक्ष श्री सुनील मानन्धरले भने, “हरेक वर्ष हामीले यस अभियानलाई विस्तार गर्दै आएका छौँ, तर यस वर्ष विशेष रूपमा उल्लेखनीय रह्यो । नेपालमा ट्रायम्फको सहभागिताले कार्यक्रममा नयाँ ऊर्जा र व्यापकता ल्याएको छ । हामी यस सहकार्यप्रति गर्व गर्छौं र आगामी वर्षहरूमा पनि यो समर्थन निरन्तर रहनेमा विश्वस्त छौँ ।”
कार्यक्रमले मानसिक स्वास्थ्य र भावनात्मक सुस्वास्थ्यका विषयमा अर्थपूर्ण संवादका लागि पनि महत्वपूर्ण मञ्चको भूमिका निर्वाह गरेको थियो । TPO Nepal की मनोचिकित्सक तथा मानसिक स्वास्थ्य विशेषज्ञ सुश्री करुणा क्षेत्रीले कार्यक्रममा सम्बोधन गर्दै भनिन्, “मानसिक स्वास्थ्य कुनै कमजोरी होइन, यो हाम्रो समग्र स्वास्थ्यको अभिन्न र आवश्यक हिस्सा हो । DGR जस्ता कार्यक्रमहरूले यस्ता संवेदनशील विषयमा खुला र सकारात्मक संवादको वातावरण सिर्जना गर्छन्, विशेष गरी ती पुरुषहरूका लागि जो प्रायः आफ्ना भावनाहरू र संघर्षलाई मौन रूपमा सहन बाध्य हुन्छन्।”
ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापाले भने, “नेपालमा लगातार दोस्रो वर्ष DGR मा ट्रायम्फको सहभागिताले यस वर्षलाई अझ विशेष बनाएको छ । पुरुषहरूको स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषयमार्फत विश्वभरका राइडरहरूलाई एकै ठाउँमा ल्याउने यस अभियानलाई समर्थन गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो ।”
कार्यक्रममा देशभरबाट आएका प्रतिष्ठित सार्वजनिक व्यक्तित्वहरू, राइडिङ समुदाय तथा मोटरसाइकलप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो, जसले यस अभियानको पहुँच र प्रभावलाई अझ विस्तार गर्न सहयोग पुर्यायो ।
आगामी योजना
यस वर्षको सफल आयोजना पछि DGR नेपालले आगामी दिनहरूमा देशभरका थप सहर र समुदायहरूमा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी संस्करणहरूमा कोष संकलनलाई अझ प्रभावकारी बनाउने, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई थप सुदृढ गर्ने तथा स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि र ट्रायम्फ जस्ता विश्वव्यापी साझेदारहरूसँगको सहकार्यलाई अझ गहिरो बनाउँदै नेपालमा पुरुषहरूको स्वास्थ्यप्रति दीर्घकालीन सचेतना र सकारात्मक प्रभाव विस्तार गर्नेमा विशेष ध्यान केन्द्रित गरिनेछ ।
प्रतिक्रिया