काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने भएपछि मन्त्रालयले समयमै नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले उक्त निर्णयअनुसार सूचना प्रवाह गर्न तथा कार्यान्वयनका लागि देशभरका विद्यालय र स्थानीय तहमा पत्राचार गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको जनाएको छ ।
यसअघि एसईई नतिजा प्रकाशन र कक्षा ११ को पढाइ सुरु हुने समयबारे विद्यार्थी तथा अभिभावकमा अन्योलता थियो । मन्त्रालयले शैक्षिक सुशासन कायम गर्दै पठनपाठनलाई व्यवस्थित र प्रभावकारी बनाउन नतिजा चाँडै सार्वजनिक गरी कक्षा सञ्चालन पनि समयमै सुरु गर्न लागेको जनाएको छ ।
मन्त्रालयका अनुसार असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु गर्दा विद्यालय शिक्षाको गुणस्तर सुधार हुनुका साथै विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया