अपडेट

सेयर बजारमा करेक्सन, नेप्से १२ अंकले घट्दा कारोबार ३ अर्ब नाघ्यो

विहीबार, ०७ जेठ २०८३, १५ : २४

काठमाडौं- अघिल्लो कारोबार दिन ३० अंकले उकालो लागेको सेयर बजार बिहीबार भने करेक्सनमा गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घटेर २७४२ अंकमा कायम भएको हो ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार अवधिभर बजार अधिकांश समय रातो अंकमै देखिएको थियो ।

आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश समूहगत सूचकमा गिरावट देखिएको भए पनि कुनै पनि समूह १ प्रतिशतभन्दा बढीले घटेन ।

बैंकिङ समूह ०.५७ प्रतिशतले घट्दा विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य समूह ०.३१ प्रतिशतले ओरालो लागे । व्यापार समूह भने स्थिर रह्यो ।

व्यक्तिगत कम्पनीतर्फ बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढ्यो । बैंक तथा वित्तीय संस्थाका डिबेन्चरहरू पनि उच्च वृद्धि हुने सूचीमा रहे ।

यता अपर लोहोरेखोलाको सेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घट्यो । झापा इनर्जी ८.१२, माउन्टेन हाइड्रो नेपाल ७.४० तथा सिटी होटल ३.८० प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहे ।

 
विहीबार, ०७ जेठ २०८३, १५ : २४

प्रतिक्रिया