पेट्रोलियम पदार्थ

भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि असर पर्ने संकेत

शनिबार, ०९ जेठ २०८३, १२ : २६

काठमाडौं- भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेल ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्ला ९ दिनभित्र भारतमा इन्धनको मूल्य तेस्रो पटक बढाइएको हो । लगातार भइरहेको मूल्यवृद्धिले त्यहाँको बजारमा मात्रै नभएर नेपालमा पनि  प्रत्यक्ष प्रभाव पर्ने संकेत देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहनु यसको मुख्य कारण मानिएको छ । इरान–अमेरिका तनाव, पश्चिम एसियामा बढ्दो अस्थिरता तथा आपूर्ति प्रणालीमा देखिएको दबाबले विश्व बजारमा तेलको भाउ उकालो लागिरहेको छ ।

भारतबाटै पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालमा पनि अब इन्धनको मूल्य पुनः समायोजन हुन सक्ने अनुमान गरिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाउने नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले हरेक १५ दिनमा मूल्य पुनरावलोकन गर्दै आएको छ ।

 
शनिबार, ०९ जेठ २०८३, १२ : २६

प्रतिक्रिया