काठमाडौं- नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार र सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनी सुधारको माग गर्दै विभिन्न प्रस्ताव पारित गरेको छ ।
शनिवार शाखा अध्यक्ष विनोदकुमार न्यौपानेको अध्यक्षता तथा महासंघका केन्द्रीय समिति अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा बनेपामा सम्पन्न साधारणसभाले पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न स्पष्ट नीति तथा कानुन निर्माण गर्न आग्रह गरेको हो ।
साधारणसभाले सूचनाको हक अक्षरशः कार्यान्वयन गर्न सरकारसँग माग गर्दै एकद्वार प्रणालीको नाममा सञ्चारमाध्यम बन्द गर्ने सरकारी कदमको विरोध गरेको छ । साथै, मिडिया क्षेत्रमा लागू गरिएको विज्ञापन नीतिलाई प्रभावकारी बनाउन तथा लोककल्याणकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
महासंघले सूचना तथा सञ्चारसँग सम्बन्धित निकायका पदाधिकारी नियुक्ति र बर्खास्ती प्रक्रिया तत्काल रोक्न माग गरेको छ । सञ्चार क्षेत्रका सरोकारवालाको सहभागितामा सर्वदलीय छलफल गरी संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अधिकार र सुरक्षाको सुनिश्चितता हुने गरी कानुन निर्माण प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ ।
यस्तै, काभ्रेपलाञ्चोकका स्थानीय तह तथा सरकारी निकायले लोककल्याणकारी विज्ञापन र सूचना जिल्लाभित्र सञ्चालित सबै सञ्चारमाध्यमलाई समानुपातिक रूपमा वितरण गर्नुपर्ने माग पनि साधारणसभाले गरेको छ ।
महासंघले प्रेस स्वतन्त्रता र सञ्चारसम्बन्धी कानुन संशोधनको विषयमा केन्द्रीय समितिले सञ्चालन गर्ने आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णयसमेत गरेको जनाएको छ ।

प्रतिक्रिया