मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

सोमबार, ११ जेठ २०८३, ०६ : ०९

काठमाडौं– पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशभरको मौसम मिश्रित बनेको छ। केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ भने पश्चिम नेपालमा अत्यधिक गर्मी र ‘लू’ को जोखिम बढेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा पनि बादल लागेको अवस्था छ।

यता मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

हाल कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। साथै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ्गसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मौसम प्रतिकूल बन्न सक्ने चेतावनी दिएको छ।

यसैबीच पश्चिम नेपालका भू–भागमा अत्यधिक गर्मी बढ्ने संकेत देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो हावा ‘लू’ चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

 
सोमबार, ११ जेठ २०८३, ०६ : ०९

प्रतिक्रिया