काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गर्दै पर्सा प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गर्न रायसहित प्रतिवेदन पेश गरिएको हो ।
गत जेठ ४ गते वीरगन्जस्थित दियालो होटल बाट पक्राउ परेका प्रसाईंले विभिन्न युट्युब अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको मुख्य आधार बनाएको जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रसाईंले महिलामाथि लाञ्छनायुक्त अभिव्यक्ति दिएको, साथै नेपाली सेना र प्रहरीजस्ता राज्यका निकायप्रति अपमानजनक तथा अश्लील टिप्पणी गरेको पाइएको दाबी गरिएको छ ।
उनले अन्तर्वार्ताका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क साम्पाङलाई एउटै शक्तिले परिचालन गरेको आरोप लगाएका थिए । साथै हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा आए बालेन्द्र शाहको फोटो घरमा राख्ने बताएका थिए ।
प्रहरी महानिरीक्षक र सेनाका अधिकारीबारे पनि उनले आपत्तिजनक टिप्पणी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पर्साको गहवा माई मन्दिर दर्शन तथा स्थानीयलाई सम्बोधन गर्न वीरगन्ज पुगेका बेला पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतले सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिइसकेको छ । अब सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्नेछ ।
प्रतिक्रिया