काठमाडौं- नेपालमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या र त्यसमा हुने सरकारी खर्च दुवै तीव्र रूपमा बढेको देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार पछिल्लो १० वर्षमा सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लाभग्राही ६८ प्रतिशतले बढेका छन् भने सरकारी खर्च ५९२ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही २२ लाख ६५ हजार ५३५ रहेकोमा आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यो संख्या बढेर ३८ लाख ६ हजार ६३४ पुगेको छ ।
त्यस्तै, सामाजिक सुरक्षा भत्तामा हुने सरकारी खर्च १० वर्षअघि १६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ रहेकोमा हाल १ खर्ब १४ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । यो वृद्धि ९७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबर हो ।
हाल सामाजिक सुरक्षा भत्ता खर्च सरकारको कुल बजेट खर्चको ७.५१ प्रतिशत बराबर पुगेको महालेखाले जनाएको छ ।
सामाजिक सुरक्षा ऐन, २०७५ अनुसार ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा लोपोन्मुख समुदायलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था छ ।
महालेखाले लाभग्राहीको संख्या प्रत्येक वर्ष बढ्दै जानु, उमेर समूहमा फेरबदल हुनु, भत्ता दर वृद्धि हुनु तथा सामाजिक सुरक्षा कार्यक्रमलाई आवश्यकता आधारित बनाउन नसक्दा राज्यको दायित्व निरन्तर बढिरहेको उल्लेख गरेको छ ।
प्रतिवेदनमा सामाजिक सुरक्षा दायित्वलाई दीगो बनाउन विस्तृत अध्ययन र विश्लेषण गर्नुपर्ने तथा बढ्दो आर्थिक भारलाई राज्यको वित्तीय क्षमताअनुसार व्यवस्थित गर्नुपर्ने सुझाव दिइएको छ ।
प्रतिक्रिया