काठमाडौं– पश्चिम एसियामा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक हवाई टिकट महँगिएको छ । यसको प्रत्यक्ष असर आन्तरिक उडानको यात्रु संख्यामा देखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा आन्तरिक उडान प्रयोग गर्ने यात्रुको संख्या घटेर ३ लाख १७ हजार ९ सय ५४ मा सीमित भएको छ । मार्च महिनामा भने यो संख्या ३ लाख ३५ हजार ६ सय ८३ रहेको थियो ।
वायुसेवा कम्पनीहरूले इन्धन मूल्यवृद्धिका कारण भाडा बढ्न पुगेको र त्यसले यात्रुको आवागमनमा कमी आएको बताएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार हाल यात्रु चाप घट्नुको मुख्य कारण नै इन्धनको मूल्यवृद्धि हो ।
उनले मलमासका कारण धार्मिक विश्वासअनुसार धेरै मानिस यात्रा नगर्नु तथा पर्यटक आगमन अपेक्षाअनुसार नबढ्नुले पनि आन्तरिक उडानमा असर परेको बताए ।
विमानस्थल कार्यालयका तथ्यांकअनुसार अप्रिलमा काठमाडौंबाट १ लाख ६० हजार ६ सय १ यात्रु आन्तरिक उडानमार्फत बाहिरिएका छन् भने १ लाख ५७ हजार ३ सय ५३ यात्रु काठमाडौं भित्रिएका छन् । यस अवधिमा ४ हजार २ सय ७२ उडान र ४ हजार २ सय ७० अवतरण भएका छन् ।
आन्तरिक यात्रु बोक्ने कम्पनीमध्ये बुद्ध एयर अग्रस्थानमा रहेको छ । कम्पनीले एक महिनामा १ लाख ७२ हजार ८ सय ७६ यात्रुलाई सेवा दिएको छ । दोस्रो स्थानमा रहेको यती एयरलाइन्सले ७१ हजार २७ यात्रु बोक्दा श्री एयरलाइन्सले ५३ हजार ५ सय २१ यात्रुलाई सेवा दिएको छ ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा १ हजार १ सय ४८ यात्रुलाई मात्र सेवा दिएको तथ्यांक छ । त्यस्तै समिट एयरले ५ हजार ६३, तारा एयरले ३ हजार ६ सय ९१ र सीता एयरले २ हजार ६ सय ४६ यात्रु बोकेका छन् । हेलिकप्टर सेवा प्रदायक कम्पनीका यात्रु संख्या समेत जोड्दा कुल आन्तरिक यात्रु संख्या ३ लाख १७ हजार ९ सय ५४ पुगेको हो ।
यता अन्तर्राष्ट्रिय उडानतर्फ भने यात्रु संख्या बढेको छ । अप्रिलमा ४ लाख ५० हजार ५ सय ८२ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन् । मार्चमा यस्तो संख्या ३ लाख ७५ हजार ६ सय ७४ थियो ।
अप्रिलमा २ लाख २६ हजार ४ सय ९७ यात्रु विदेश प्रस्थान गरेका छन् भने २ लाख २३ हजार ९ सय ८५ यात्रु नेपाल आएका छन् । यस अवधिमा १ हजार ४ सय ६१ अन्तर्राष्ट्रिय उडान र १ हजार ४ सय ५९ अवतरण भएका छन् । साथै १ सय यात्रुले ट्रान्जिट सुविधा प्रयोग गरेका छन् ।
वसन्त ऋतु नेपालमा पदयात्रा र पर्वतारोहणको मुख्य पर्यटन मौसम भएकाले अन्तर्राष्ट्रिय यात्रुको आगमन र प्रस्थान दुवै बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया