काठमाडौं- मेडिकल व्यवसायी तथा एवंम राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
प्रसाईंलाई जेठ ४ गते प्रहरीले पर्साको वीरगन्जस्थित एक होटलबाट पक्राउ गरेको थियो । सोमबार अदालतमा मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा सजाय माग गरिएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले युट्युब अन्तर्वार्तामार्फत महिलामाथि अपशब्द प्रयोग गरेको तथा सेना र प्रहरीजस्ता राज्यका निकायमाथि अश्लील र होच्याउने टिप्पणी गरेको आरोप छ ।
त्यस्तै, उनले एक अन्तर्वार्तामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, रवि लामिछाने, पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ तथा सांसद हर्क साम्पाङलाई ‘एउटै टिम’ले चलाएको दाबी गरेका थिए । हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा उभिए बालेन्द्र शाहको फोटो घरमा राख्ने अभिव्यक्ति पनि उनले दिएका थिए ।
यसका साथै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले आपत्तिजनक टिप्पणी गरेको आरोप उनीमाथि लागेको छ ।
प्रतिक्रिया