काठमाडौं- सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब रुपैयाँ नाघेको छ । बुधबार सेयर बजारमा कुल ६ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च रहेको बताइएको छ । त्यसयता दैनिक कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा तल सीमित हुँदै आएको थियो ।
आज बजार परिसूचक नेप्से भने सामान्य अंकले बढेको छ । कारोबार अन्त्यमा नेप्से ४.९९ अंक अर्थात् ०.१७ प्रतिशतले बढेर २७८२ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ बैंकिङ ०.२७ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, जलविद्युत् ०.०६ प्रतिशत, लगानी ०.५८ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत तथा व्यापार समूह ०.७३ प्रतिशतले बढेका छन् ।
यस्तै अन्य समूह ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४३ प्रतिशत, होटल तथा पर्यटन ०.२४ प्रतिशत र फाइनान्स समूह ०.३८ प्रतिशतले घटेका छन् ।
व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत कालिन्चोक हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै बुंगल हाइड्रो को १३.३७ प्रतिशत, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स को ८.५२ प्रतिशत, आँखुखोला जलविद्युत् को ३.९३ प्रतिशत तथा माथिल्लो मैलुङखोला को ३.५१ प्रतिशतले वृद्धि भएको छ ।
आज मूल्य सबैभन्दा धेरै घट्नेमा डिबेन्चरहरू रहेका छन् । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप अगाडि रहेका छन् ।
प्रतिक्रिया