काठमाडौं- नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्याकाथन २०२६” (भक्भधब ज्बअपबतजयल २०२६) आयोजना गर्ने भएको छ ।
वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो । विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरण लगायतका क्षेत्रमा काम गर्दै आएको इसेवाले आफ्नो नियमित सेवा सञ्चालनका अतिरिक्त नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ ।
यसैअन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागिएको इसेवाले जनाएको छ । ह्याकाथनमा देशैभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्ने छन् । ह्याकाथनबारे जानकारी दिँदै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधानहरू निर्माण गर्न र दिगो विकासमा योगदान दिन ह्याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
“इसेवा ह्याकाथनले “डिजिटल प्रणालीको विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधानहरू निर्माण गर्न डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउने छ ।” खड्काले भने, “यस प्रकारका प्रयासहरूले युवाहरूमा नवप्रवर्तनात्मक सोच तथा सिर्जनशीलता बढाउनका साथै सुरक्षित फिनटेक इकोसिस्टम र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ ।” ह्याकाथनका प्रतिस्पर्धीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन र समाधानका प्रोटोटाइपहरू प्रस्तुत गर्ने छन् ।
जसले वातावरणीय र सामाजिक प्रभावमा योगदान दिने डिजिटल प्रणाली निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ह्याकाथन अवधिभर सहभागी टोलीहरूलाई उत्कृष्ट समाधान निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका लिडरहरूद्वारा प्रत्यक्ष मेन्टरसिप तथा विधागत मार्गदर्शन प्रदान गरिने छ । मेन्टरहरूको सहयोगमा सहभागीहरूले आफ्ना आइडियाहरूलाई थप परिष्कृत बनाउने अवसर पाउने छन् ।
तीन दिनसम्म चल्ने आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान र प्रोटोटाइप प्रस्तुत गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. तीन लाख, द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रु. दुई लाख र तृतीय स्थान हासिल गर्ने टोलीले नगद रु. एक लाख पुरस्कार प्राप्त गर्ने इसेवाले जनाएको छ ।
प्रतिक्रिया