प्रेस सेन्टर भरतपुर महानगर कमिटीद्वारा शहिद जनपत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा पत्रकार सम्मान

विहीबार, १४ जेठ २०८३, १६ : ५३

काठमाडौं- प्रेस सेन्टर भरतपुर महानगर कमिटीले महान शहिद जनपत्रकार कृष्ण सेन इच्छुकको २४ औं स्मृति दिवस मनाएको छ । उद्योग संघ चितवनको सभाहलमा सम्पन्न कार्यक्रममा सङ्गठनमा आवद्ध तीन जना पत्रकार तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

कमिटिले ज्येष्ठ पत्रकार गोपाल परियार (जिपी गोर्खाली), महिला पत्रकार अजिता अधिकारी र युवा पत्रकार आयुष न्यौपानेलाई पुरस्कृत गरेको हो । परियारलाई ‘इच्छुक आजीवन पत्रकारिता पुरस्कार’, अधिकारीलाई ‘प्रज्ञा पत्रकारिता पुरस्कार’ तथा न्यौपानेलाई ‘डिजिटल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

कार्यक्रम संयोजक एवम् प्रेस सेन्टर भरतपुर महानगर कमिटीका उपाध्यक्ष रविचन्द्र अधिकारीले अग्रज पत्रकारलाई सम्मान गर्दै नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक पुरस्कार स्थापना गरिएको जानकारी दिए । उनले सङ्गठनमा सक्रिय सदस्यहरूको योगदान, सक्रियता र पत्रकारिताप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको बताए ।

उपाध्यक्ष अधिकारीका अनुसार आगामी वर्षहरूमा पनि पुरस्कार कार्यक्रमलाई निरन्तरता दिइनेछ । पत्रकारिताको विकास, व्यावसायिकता र सक्रिय पत्रकारहरूको मनोबल उच्च राख्न यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एवम् प्रेस सेन्टरका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेश चन्द्र अधिकारी रहेका थिए । उनले कृष्ण सेन सत्य र निष्पक्ष जनताको कलमजिवी जनपत्रकार भएका कारण तानाशाह राज्यले हत्या गरेको प्रष्ट पारे।

बरिस्ठ पत्रकार चिन्तामणि पौडेलले प्रमुख बक्ताको रुपमा कृष्ण सेन इच्छुकको समग्र राजनीतिक जीवनको बारेमा स्पष्ट पारेका थिए । यस्तै, नेपाल पत्रकार महासंघ चितवन उपाध्यक्ष दीपेन्द्र अधिकारीले जनयुद्धमा कृष्ण सेन इच्छुकको योगदान महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका वाग्मती प्रदेश सभासद ईश्वर सापकोटा सुमन, प्रेस युनियन जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवन अध्यक्ष राजेन्द्र आचार्य, प्रेस चौतारी जिल्ला उपाध्यक्ष रामकान्त पौडेल, क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम कडेल, जन पत्रकार संगठन जिल्ला अध्यक्ष सूर्य बराल लगायतले कृष्ण सेन इच्छुकको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।  

कार्यक्रममा कवि पोषराज पौडेलले शहिद कृष्ण सेन इच्छुकको बारे लेखिएको कविता वाचन गरेका थिए । भने कार्यक्रम समापन गरे लगत्तै शहिद जनपत्रकार कृष्ण सेन इच्छुकको सम्झनामा चौबीसकोठीमा दिप प्रज्वलन गरिएको थियो ।
 

 
विहीबार, १४ जेठ २०८३, १६ : ५३

प्रतिक्रिया