काठमाडौं- नेपालमा एरोस्पेस तथा डिजिटल प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र क्षमता विकासका लागि विश्वप्रसिद्ध एरोस्पेस कम्पनी ‘एअरबस’ (Airbus) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बीच एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एअरबस साउथ एसिया (Airbus South Asia) का प्रेसिडेन्ट तथा म्यानेजिङ डिरेक्टर जर्गेन वेस्टरमेयर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
उक्त विशेष कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनिया कोर्तेभल लगायत विभिन्न सरकारी अधिकारी तथा एअरबसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपालको सबैभन्दा ठूलो सार्वजनिक विश्वविद्यालय त्रिवि र एअरबसबीच भएको यस सहकार्यले नेपालको उड्डयन (एभिएसन) क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै एअरबस साउथ एसियाका प्रेसिडेन्ट जर्गेन वेस्टरमेयरले नेपालमा दक्ष जनशक्ति विकासका लागि एअरबसले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञता साझा गर्न पाउँदा खुसी व्यक्त गरे । यस सहकार्यले नेपालको उड्डयन र एरोस्पेस क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले एअरबसजस्तो विश्वस्तरीय कम्पनीसँगको सहकार्य त्रिविका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यसले विश्वविद्यालयको पाठ्यक्रम सुधार गर्न, विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको व्यावहारिक ज्ञान दिन र नेपालको समग्र उड्डयन क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने उनले उल्लेख गरे ।
डिजिटल प्रविधि र व्यावहारिक ज्ञानमा जोड
सम्झौताअनुसार दुवै संस्थाले नेपालमा एरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम र अनुसन्धानका अवसरहरू विस्तार गर्ने लक्ष्य राखेका छन्। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई आधुनिक प्रविधिहरू जस्तैः
एरोस्पेस इन्जिनियरिङ (Aerospace Engineering)
आर्टिफिसियल इन्टेलिजेन्स र मिसिन लर्निङ (AI/ML)
एड्भान्स्ड एनलाइटिक्स (Advanced Analytics)
साइबर सेक्युरिटी (Cybersecurity)
यसका साथै विद्यार्थीहरूको व्यावहारिक क्षमता अभिवृद्धिका लागि दुवै संस्थाले संयुक्त रूपमा इन्टर्नसिप, प्लेसमेन्ट, कार्यशाला (वर्कसप), सम्मेलन र अन्य प्राविधिक कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
प्रतिक्रिया