देशभर सवारीसाधन ६२ लाख नाघे, ५० लाखभन्दा बढी मोटरसाइकल

आइतबार, १७ जेठ २०८३, १४ : ५२

काठमाडौं- देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाखभन्दा बढी पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको हो।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९२१ सवारीसाधन दर्ता भएका छन्। दर्ता भएका सवारीसाधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको तथ्यांकले देखाएको छ।

त्यसैगरी, फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी गरिएको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्र ४३ हजार ७५० लाइसेन्स जारी भएका छन्।

इम्बोस्ड नम्बर प्लेटको उत्पादन र जडान कार्य पनि जारी रहेको छ। चालु आर्थिक वर्षको आठ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ५ हजार १८६ थान जडान गरिएको छ।

त्यस्तै, हालसम्म कुल ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भइसकेको छ भने ८८ हजार ३४० थान मात्र जडान गरिएको छ। इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ अनुसार जडान कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।

 
आइतबार, १७ जेठ २०८३, १४ : ५२

प्रतिक्रिया