समाचार

२१ खर्बको बजेट खर्च गर्ने क्षमता सरकारसँग छ : अर्थमन्त्री वाग्ले

आइतबार, १७ जेठ २०८३, १६ : १२

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि सरकारले असाधारण तयारी गरेको दाबी गर्दै बजेटको प्रभावकारितामाथि तत्काल शंका नगर्न आग्रह गरेका छन्।

बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै खर्च गर्ने क्षमता अभिवृद्धि गर्न विभिन्न मन्त्रालयहरूलाई अभूतपूर्व रूपमा अधिकार सम्पन्न बनाइएको बताए।

अर्थमन्त्री वाग्लेले विगतका वर्षहरूमा भौतिक पूर्वाधारतर्फको खर्च प्रगति चैत मसान्तसम्म पनि २४–२५ प्रतिशतको हाराहारीमा सीमित रहने गरेको स्मरण गराउँदै यसपटक खर्च व्यवस्थापनमा सुधार ल्याउन विशेष व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार खर्च हुन नसकेको शीर्षकको बजेट आवश्यक क्षेत्रमा स्थानान्तरण (रकमान्तर) गर्न सकिने व्यवस्था विनियोजन विधेयकमै समावेश गरिएको छ।

‘विगतमा एकातिर बजेट खर्च नभई थन्किने र अर्कोतिर आवश्यक क्षेत्रमा बजेट अभाव हुने समस्या थियो,’ उनले भने, ‘त्यसलाई सम्बोधन गर्न जेठ १६ गतेदेखि नै रकमान्तर गर्न सकिने व्यवस्था गरेका छौं, जसले खर्च प्रणालीमा ठूलो सुधार ल्याउनेछ।’ अर्थमन्त्री वाग्लेले सरकारले ल्याएको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट कार्यान्वयनमा कुनै शंका नराख्न आग्रह गर्दै अहिले नै नतिजा खोज्नुभन्दा अर्को वर्षको वैशाख–जेठमा समीक्षा गर्न सुझाव दिए।

‘अहिले नै २१ खर्ब २४ अर्ब खर्च गर्न सक्छौं कि सक्दैनौं भनेर प्रश्न नगर्नुस्, मलाई अहिले शंकाको सुविधा दिनुस्,’ उनले भने। विगतमा ठूलो आकारको बजेट ल्याएर मध्यावधि समीक्षापछि बजेटको आकार घटाउने प्रवृत्ति रहेको उल्लेख गर्दै यसपटक त्यस्तो अवस्था नआउने उनको दाबी छ।

‘हामीले गरेका नीतिगत सुधार र नयाँ व्यवस्थाका कारण २१ खर्ब २४ अर्बको बजेटलाई पछि घटाएर १८–१९ खर्बमा झार्नुपर्ने अवस्था आउने छैन,’ उनले भने, ‘सरकार निर्धारित लक्ष्य हासिल गर्ने गरी काम गरिरहेको छ।’

 
 
आइतबार, १७ जेठ २०८३, १६ : १२

प्रतिक्रिया