सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणले २० हजार कित्तासम्म आवेदन दिन सक्ने

सोमबार, १८ जेठ २०८३, ११ : ५९

काठमाडौं- सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीका अनुसार आईपीओमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि असार १ गतेसम्म थप गरिनेछ।

कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। कुल जारी पूँजीको १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित बझाङ जिल्लाका स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिसकिएको छ।

बाँकी २० प्रतिशत अर्थात् ५७ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएकामध्ये १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षण गरिएको थियो। त्यस्तै, ३ प्रतिशत अर्थात् १ लाख ७१ हजार कित्ता कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। यी सबै छुट्याइएपछि बाँकी ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

यस निष्कासनको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको क्रेडिट रेटिङसमेत सुधार भएको छ। इक्रा नेपाल ले सानिगाड हाइड्रोको निष्कासनकर्ता मूल्याङ्कन स्तर ‘बी प्लस’ बाट बढाएर ‘डबल बी माइनस’ प्रदान गरेको छ। यस्तो मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमता मध्यम जोखिम स्तरमा रहेको संकेत गर्छ।

सन् २००७ डिसेम्बरमा निजी कम्पनीका रूपमा स्थापना भएको सानिगाड हाइड्रो सन् २०२१ जुलाई १४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले हाल माथिल्लो कालंगा गाड जलविद्युत आयोजना अन्तर्गत ३८.४६ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ।

 
सोमबार, १८ जेठ २०८३, ११ : ५९

प्रतिक्रिया