काठमाडौं– राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतको नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्।
भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा नेतृत्वसँग भेटघाट तथा छलफल गर्न लागेको हो। भेटवार्तामा नितिन नवीनसहित पार्टीका उच्च तहका नेताहरू सहभागी हुने जनाइएको छ।
रास्वपाले जारी गरेको जानकारीअनुसार छलफल नेपाल–भारतबीचको आपसी सम्बन्ध, लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्द्धन, राजनीतिक दलहरूबीच अनुभव आदानप्रदान तथा सम्भावित सहकार्यका विषयमा केन्द्रित रहनेछ।
लामिछाने सोमबार पाँचदिने भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम रहेको बताइएको छ।
प्रतिक्रिया