नेपाल देशभक्त गठबन्धनद्वारा संविधान परिमार्जन सभा र नयाँ राष्ट्रिय सहमतिका लागि आह्वान

बुधबार, २० जेठ २०८३, १५ : ३०

काठमाडौं-  नेपाल देशभक्त गठबन्धनले वर्तमान राजनीतिक व्यवस्था देशको समस्या समाधान गर्न असफल भएको दाबी गर्दै नयाँ राष्ट्रिय सहमति निर्माणका लागि संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेको छ।

बुधबार स्मार्ट दरबारमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले पटक–पटकका राजनीतिक परिवर्तन, संघीय संरचना, धर्मनिरपेक्षता तथा गणतन्त्रजस्ता व्यवस्थाले जनअपेक्षाअनुसार शान्ति, समृद्धि र सुशासन दिन नसकेको जनाएको छ। कार्यक्रममा जारी गरिएको विज्ञप्तिमा देशमा राजनीतिक, आर्थिक तथा सामाजिक संकट गहिरिँदै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि नयाँ राष्ट्रिय सहमति आवश्यक रहेको बताइएको छ।

IMG_20260603_152052

गठबन्धनका संयोजक मनमोहन शमशेर राणाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै देशमा शान्ति, उन्मुक्ति, आर्थिक समृद्धि र सामाजिक न्याय स्थापना गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक रहेको बताए। उनले विगतका राजनीतिक परिवर्तन, शासन प्रणाली, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रले जनताका अपेक्षा पूरा गर्न नसकेको दाबी गरेका छन् ।

IMG_20260603_145358

गठबन्धनले १२ बुँदे समझदारीबाट सुरु भएको राजनीतिक प्रक्रियाले अपेक्षित परिणाम दिन नसकेको दाबी गर्दै वर्तमान संविधान र शासन प्रणालीको पुनरावलोकन आवश्यक रहेको जनाएको छ। देशलाई निकास दिन संविधान परिमार्जन सभा गठन गरी व्यापक राष्ट्रिय बहस र सहमतिका आधारमा नयाँ राजनीतिक मार्ग तय गर्नुपर्ने धारणा विज्ञप्तिमा व्यक्त गरिएको छ।

जारी विज्ञप्तिमा राष्ट्रवाद, लोकतन्त्र र सामाजिक न्यायको आधारमा राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने उल्लेख गर्दै सबै देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ। गठबन्धनले विदेशी हस्तक्षेप, विभाजनकारी राजनीति र सुशासनको अभावले मुलुक संकटतर्फ धकेलिएको दाबी गरेको छ।

IMG_20260603_141342-scaled

त्यस्तै, देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै गठबन्धनले संविधान परिमार्जनमार्फत नयाँ राष्ट्रिय सहमति कायम गर्नुपर्ने र त्यसका लागि देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

कार्यक्रम मार्फत हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र देशको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि सबै देशभक्त नेपालीलाई एकजुट हुन आव्हान गरिएको छ । राणाले संविधान सभाको माध्यमबाट जारी गरिएको वर्तमान संविधानले मुलुकलाई निकास दिन नसकेको उल्लेख गर्दै राष्ट्रिय संकट समाधानका लागि संविधान परिमार्जन सभा गठन अपरिहार्य भएको बताए। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा विकास र समृद्धिको सुनिश्चितता गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे।

गठबन्धनले जारी गरेको विज्ञप्तिमा वैदेशिक हस्तक्षेप, विखण्डन र द्वन्द्वमुक्त नेपाल निर्माण गर्दै सुशासनमार्फत जनताले खोजेको शान्ति र समृद्धि हासिल गर्न सकिने उल्लेख गरिएको छ। विज्ञप्तिमा किरात, बौद्ध तथा वैदिक सनातन हिन्दु अधिराज्य स्थापना गर्न संविधान परिमार्जन सभा गठन गरिनुपर्ने माग पनि गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले राष्ट्रिय सहमति र राजनीतिक संवादमार्फत मुलुकका चुनौतीहरूको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा अतिथि ऋषीबाबु परियारले सार्वजनिक गरिएको विज्ञप्ति समयसापेक्ष र सान्दर्भिक रहेको टिप्पणी गरे। नेपाल देशभक्त गठबन्धनका प्रवक्ता इवा मिक्तोक लिम्बूले स्वागत मन्तव्य व्यक्त गरेका थिए। झलक वाग्लेले पनि आफनो बिचार राखेका थिए ।

 
 
 
बुधबार, २० जेठ २०८३, १५ : ३०

प्रतिक्रिया