एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम (पि टु पि) रेमिट्यान्स सेवाको थालनी

विहीबार, २८ जेठ २०८३, १५ : १६

काठमाडौं- हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पि टु पि) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड (EBL) ले आफ्नो मोबाइल बैंकिङ एप “EBL Touch 24” मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर (पि टु पि) रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । 

यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (Real–time) रकम आदानप्रदान गर्न सक्नेछन् ।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन् । 

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् । नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । 

साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन् । यस सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि ग्राहक महानुभावहरूले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट www.everestbankltd.com वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
 

विहीबार, २८ जेठ २०८३, १५ : १६

प्रतिक्रिया