फाइल फोटो
काठमाडौं- देशका विभिन्न भूभागमा लगातार भइरहेको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढाएको छ । नदी तथा खोलामा पानीको बहाव तीव्र बन्दै जाँदा विभिन्न बस्ती प्रभावित हुनुका साथै सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
गण्डकी, लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षाजन्य विपद्को असर देखिएको छ । कतिपय नदीको जलसतह खतराको तह पार गरेको छ भने पहाडी क्षेत्रमा पहिरो र सडक भासिने क्रम बढेको छ ।
मौसम प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षाको गतिविधि जारी रहेको मौसमसम्बन्धी विवरणमा उल्लेख छ ।
यसैबीच बाढी पूर्वानुमानसम्बन्धी निकायले विभिन्न नदी तथा जलाधार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मुस्ताङ, मनाङ, कास्की, लमजुङ, बागलुङ, चितवन, म्याग्दी, पाल्पा, तनहुँ र नवलपुर–नवलपरासीलगायत क्षेत्रमा बहने नदीमा पानीको बहाव बढेको छ । कर्णाली र सुदूरपश्चिमका केही साना नदीमा समेत अचानक बहाव बढ्न थालेको छ ।
चितवनको देवघाट क्षेत्रमा नारायणी नदीको जलसतह खतराको सीमाभन्दा माथि पुगेको छ । नदीको पानी निरन्तर बढिरहेकाले तटीय तथा होचा भूभागमा कटान र डुबानको जोखिम थपिएको छ । नारायणी जलाधारका विभिन्न स्थानमा पानीको बहाव अझ बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
यता रुपन्देहीको बुटवल क्षेत्रमा तिनाउ नदीको बाढीले ठूलो क्षति पुर्याएको छ । बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा नदीको कटान र बाढीका कारण दुई पक्की र चार कच्ची गरी ६ वटा घर बगेका छन् । बाढीको प्रभाव बढ्दै जाँदा आसपासका अन्य बस्तीसमेत जोखिममा परेका छन् ।
पर्वतको जलजला क्षेत्रमा कालीगण्डकी नदीको बाढीले २० भन्दा बढी घरमा क्षति पुर्याएको छ । फर्से क्षेत्रमा नदीको कटान बढ्दा बस्ती, विद्यालय, कृषि संरचना तथा गोठ प्रभावित भएका छन् ।
लगातारको वर्षाले सडक र पुलमा समेत व्यापक क्षति पुगेको छ । स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी क्षेत्रको पक्की बेलिब्रिज नदीको तीव्र बहावका कारण बगेको छ । नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको नवलपुरतर्फको पहुँच मार्गसमेत बाढीले कटान गरेको छ ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको ठूलो हिस्सा भासिएको छ । सडकको करिब आधा भाग क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
उता लमजुङको बेँसीसहर–चामे सडकखण्डमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।
उच्च हिमाली क्षेत्रमा समेत वर्षा र हिमपातको असर देखिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङमा वर्षासँगै हिमपात भएपछि दैनिक जनजीवन प्रभावित भएको छ । मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ मर्स्याङ्दी नदीमा आएको बाढीका कारण पुनः डुबानमा परेको छ । बाढी र पहिरोका कारण विभिन्न सडकमार्ग अवरुद्ध हुँदा प्रभावित बस्तीको बाह्य सम्पर्कसमेत प्रभावित भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउदार गिवाङमा पहिरोले एउटा घर पुरेको छ । घरभित्र रहेका दुई जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण छ । घटनाको थप विवरण आउन बाँकी छ ।
लगातारको वर्षाका कारण आगामी घण्टामा पनि नदी तथा खोलाको बहाव बढ्न सक्ने देखिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै भूभागमा वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा समेत वर्षा हुन सक्ने पूर्वानुमान छ । नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा कमजोर सडक संरचनामा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया