बाढी–पहिरो र वर्षाका कारण नेपाल टेलिकमको सेवा प्रभावित, मर्मतकार्य जारी

आइतबार, ११ असोज २०८३, १४ : २२

काठमाडौं- निरन्तरको हावाहुरीसहितको वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ ।

नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखि भइरहेको निरन्तर वर्षा तथा त्यसबाट उत्पन्न विषम परिस्थितिका कारण कतिपय स्थानमा सेवा अवरुद्ध भएको जनाएको छ । भारी वर्षा र पहिरोका कारण प्राविधिक टोलीको आवतजावतमा कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको टेलिकमले जनाएको छ ।

त्यस्तै, विद्युत् आपूर्तिमा आएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार प्रणालीको प्रभावकारिता घट्दा समेत सेवा सञ्चालनमा समस्या आएको टेलिकमको भनाइ छ ।

नेपाल टेलिकमका अनुसार प्राविधिक रूपमा प्रणालीबाट गर्न सकिने मर्मतसम्भारका काम तथा सम्भव भएका स्थानमा सेवाको प्रत्यक्ष मर्मतकार्य निरन्तर भइरहेको छ । मौसममा सुधार आएसँगै सम्बन्धित कार्यस्थलमा प्राविधिक टोली परिचालन गर्ने गरी आवश्यक तयारीसमेत गरिएको टेलिकमले जनाएको छ ।

प्राकृतिक विपद्का कारण सेवामा आएको अवरोधबाट ग्राहकमा पर्न गएको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ । साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण सिर्जित कठिन परिस्थितिमा ग्राहकले देखाएको धैर्यताप्रति टेलिकमले आभार व्यक्त गरेको छ ।

आइतबार, ११ असोज २०८३, १४ : २२

प्रतिक्रिया