बैंकिङ प्रणालीमा नयाँ चुनौती

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै, हिमालयन र ग्लोबल आइएमई बैंकको धेरै

मंगलबार, ०९ असार २०८३, १२ : २०

काठमाडौं- कर्जा असुलीमा देखिएको सुस्तताले वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ। ऋणीले कर्जा भुक्तानी गर्न नसकेपछि बैंकहरूले धितोका रूपमा लिएका सम्पत्तिको मात्रा बढ्दा यस्तो अवस्था देखिएको हो।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्मको तथ्यांकअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक १९ वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति चालु आर्थिक वर्षको वैशाखसम्म आइपुग्दा ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

बैंकहरूले कर्जा असुलीका लागि धितो बिक्री गर्ने प्रयास गरे पनि बजार अवस्था र खरिदकर्ताको अभावका कारण कतिपय सम्पत्ति लामो समयसम्म बैंककै स्वामित्वमा रहने गरेका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा १९ मध्ये १२ वटा बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ७ वटा बैंकले घटाउन सफल भएका छन्। ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले यस्तो सम्पत्ति घटाएका हुन्।

गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढी हिमालयन बैंकमा थुप्रिएको छ। बैंकको यस्तो सम्पत्ति एक वर्षमा १८.०९ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

त्यसपछि ग्लोबल आइएमई बैंकमा ५ अर्ब ९० करोड २४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। यद्यपि बैंकले अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति ०.९४ प्रतिशतले घटाएको छ।

प्राइम कमर्सियल बैंकमा भने गैरबैंकिङ सम्पत्तिको वृद्धि तीव्र देखिएको छ। अघिल्लो वर्षको तुलनामा ११०.८६ प्रतिशतले बढेर बैंकमा यस्तो सम्पत्ति ४ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

यता नेपाल बैंकमा सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति रहेको छ। बैंकमा २३ करोड ३६ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यद्यपि यो रकम पनि अघिल्लो वर्षको तुलनामा १४.४७ प्रतिशतले बढी हो।

बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्नुले खराब कर्जा व्यवस्थापन र कर्जा असुली प्रक्रियामा थप दबाब सिर्जना भएको संकेत गर्छ। यस्तो सम्पत्ति व्यवस्थापन गर्न नसके बैंकहरूको नाफा र सम्पत्ति गुणस्तरमा समेत असर पर्न सक्ने देखिन्छ।

मंगलबार, ०९ असार २०८३, १२ : २०

प्रतिक्रिया