काठमाडौं- नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामै २५ अर्ब ५५ करोड ९९ लाख रुपैयाँभन्दा बढी मूल्यका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म नेपालमा ५० किलोवाटदेखि २०१ किलोवाटसम्म क्षमताका विभिन्न श्रेणीका ईभी भित्रिएका छन्। तथ्यांकले पेट्रोलियम इन्धनमा आधारित सवारीको विकल्पका रूपमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा विस्तार भइरहेको संकेत गरेको छ।
आयात भएका सवारीमध्ये ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ईभीको हिस्सा सबैभन्दा ठूलो रहेको छ। समीक्षा अवधिमा यस श्रेणीका ६ हजार ३५७ वटा सवारी आयात हुँदा त्यसको कुल मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ पुगेको छ। संख्या र मूल्य दुवै हिसाबले यही वर्ग नेपाली बजारको प्रमुख रोजाइ बनेको देखिन्छ।
यस्तै, ५० किलोवाट क्षमताका ३ हजार ६८० वटा विद्युतीय सवारी आयात भएका छन्। यी सवारीको कुल आयात मूल्य ५ अर्ब ६५ करोड रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ। तुलनात्मक रूपमा कम मूल्य, कम सञ्चालन खर्च र सहरी प्रयोगका लागि उपयुक्त भएकाले यस क्षमताका ईभीप्रति उपभोक्ताको आकर्षण उच्च रहेको देखिन्छ।
विद्युतीय सवारीको बढ्दो आयातले नेपालमा स्वच्छ ऊर्जामा आधारित यातायात प्रणालीतर्फको संक्रमण तीव्र बन्दै गएको संकेत गरेको छ। साथै, सरकारले दिएको कर छुट तथा चार्जिङ पूर्वाधार विस्तारले पनि ईभी बजारको वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ।
प्रतिक्रिया