काठमाडौं- नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ऋणपत्रका लागि अनलाइन बोलकबोल प्रक्रिया आज असार १७ गते दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्व अवधि २०८४ असार १७ गते रहनेछ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। लगानीकर्ताले प्राप्त गर्ने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा सहभागी हुन न्यूनतम ५ करोड रुपैयाँका लागि आवेदन दिनुपर्नेछ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको ४५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन धितोका रूपमा पनि प्रयोग गर्न सकिनेछ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गरी अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया