काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले बोलकबोलमार्फत ऋणपत्र निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष हुनेछ भने यसको साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमभित्र रही बोलपत्र पेस गर्न सक्नेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलबाट प्राप्त प्रस्तावलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रममा मूल्याङ्कन गरिनेछ। आह्वान गरिएको रकम पुग्ने बिन्दुसम्म कायम हुने ब्याजदरलाई ‘एकल ब्याजदर’का रूपमा निर्धारण गरी सोही दरमा उक्त दर वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सबै सफल बोलवालालाई ऋणपत्र बिक्री गरिनेछ।
यदि एउटै ब्याजदरमा परेको बोलपत्रको कुल रकम निष्कासन गर्न लागिएको रकमभन्दा बढी भएमा भने सम्बन्धित बोलवालाबीच समानुपातिक रूपमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया