काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै भुक्तानी सेवा प्रदायक संस्थाका लागि नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले विद्युतीय वालेट सञ्चालनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्देशन जारी गरेको छ।
नयाँ निर्देशनअनुसार अब नेपाली नागरिकले ई–वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट विवरण यकिन गर्नुपर्नेछ। साथै, सबै वालेट प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण वा नम्बर मोबाइल एप वा अन्य माध्यमबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने प्रत्येक महिना परिचयपत्र बनाई केवाईसी (KYC) अद्यावधिक गर्न सूचना दिनुपर्नेछ।
विदेशमा रहेका नेपालीले भने राष्ट्रिय परिचयपत्रबाहेक अन्य आवश्यक कागजातका आधारमा अनलाइनबाट वालेट खोल्न सक्नेछन्। तर नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, अशक्त, असहाय वा आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकले पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
प्रतिक्रिया