काठमाडौं– हिरो मोटोकर्पको विद्युतीय सवारी ब्रान्ड VIDA ले नेपालबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ। कम्पनीले चौधरी समूहअन्तर्गतको CG Motors सँगको वितरण साझेदारीमार्फत नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको हो।
नेपालमा VIDA ले VX2 EVOOTER स्कुटर शृंखला र युवालाई लक्षित DIRT.E K3 विद्युतीय अफ-रोड बाइक सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी उत्पादनहरू नेपाली उपभोक्ताको फरक–फरक आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर ल्याइएको हो।
हिरो मोटोकर्पको Emerging Mobility Business Unit की प्रमुख व्यवसाय अधिकृत कौसल्या नन्दकुमार ले नेपालबाट VIDA को अन्तर्राष्ट्रिय विस्तार सुरु हुनु कम्पनीका लागि ऐतिहासिक उपलब्धि भएको बताइन्। उनका अनुसार नेपाल विद्युतीय सवारीप्रति तीव्र आकर्षण बढिरहेको रणनीतिक बजार भएकाले यहाँबाट वैश्विक यात्रा सुरु गरिएको हो।
चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी ले VIDA को आगमनले नेपालमा दिगो तथा हरित यातायात प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने बताए। उनले दैनिक यात्रुदेखि नयाँ पुस्ताका राइडरसम्मलाई लक्षित आधुनिक विद्युतीय उत्पादनले दुईपांग्रे बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
VIDA VX2 दुई भेरियन्टमा उपलब्ध हुनेछ– VX2 Plus र VX2 Go।
VX2 Plus मा ४.४ किलोवाट-घण्टाको डुअल रिमुभेबल ब्याट्री प्याक रहेको छ। यसले एकपटक चार्जमा करिब १४० किलोमिटरसम्म चल्ने दाबी गरिएको छ। स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.१ सेकेन्डमै लिन सक्छ। डीसी फास्ट चार्जिङमार्फत ० देखि ८० प्रतिशतसम्म चार्ज हुन करिब ६५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
त्यस्तै VX2 Go मा २.२ किलोवाट-घण्टाको रिमुभेबल ब्याट्री रहेको छ। यसले करिब ७५ किलोमिटरको वास्तविक रेन्ज, ७० किलोमिटर प्रतिघण्टाको अधिकतम गति तथा ०–४० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमा प्राप्त गर्न सक्ने क्षमता राख्छ। यसमा पनि ६५ मिनेटमै ८० प्रतिशतसम्म डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ।
दुवै स्कुटरमा घरमै सामान्य ५ एम्पियरको सकेटबाट चार्ज गर्न मिल्ने रिमुभेबल ब्याट्री, My VIDA एप, नेभिगेसन, जियो–फेन्सिङ, कल तथा एसएमएस अलर्ट र ओभर-द-एयर (OTA) सफ्टवेयर अपडेटजस्ता स्मार्ट फिचर समावेश छन्।
कम्पनीले सार्वजनिक गरेको VIDA DIRT.E K3 भने युवालाई लक्षित विद्युतीय अफ-रोड बाइक हो। यसमा प्रयोगकर्ताको उमेर र उचाइअनुसार सानो, मध्यम र ठूलो गरी तीन आकारमा परिवर्तन गर्न सकिने विशेषता छ।
यसमा अभिभावकले एपमार्फत गति नियन्त्रण गर्न सक्ने सुविधा दिइएको छ। बाइकमा तीनवटा स्पिड मोड उपलब्ध छन्– पहिलो मोडमा ८–९ किमी/घण्टा, दोस्रोमा १७–१८ किमी/घण्टा र तेस्रोमा २३–२४ किमी/घण्टासम्मको गति सीमित गर्न सकिन्छ।
३५० वाटको मोटर र ३६० वाट-घण्टाको रिमुभेबल ब्याट्रीयुक्त DIRT.E K3 ले प्रयोगको अवस्था अनुसार करिब तीन घण्टासम्म चल्ने क्षमता राख्छ भने २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन करिब दुई घण्टा लाग्ने कम्पनीले जनाएको छ। यो मोडलले Red Dot Design Award 2025 र CES Innovation Award 2026 समेत जितिसकेको छ।
हिरो मोटोकर्प सन् २०१४ देखि नेपालमा सक्रिय रहँदै आएको छ। कम्पनीका अनुसार VIDA विद्युतीय शृंखलाको आगमनसँगै अब नेपाली उपभोक्तालाई स्मार्ट, दिगो र भविष्यकेन्द्रित विद्युतीय दुईपांग्रे सवारी उपलब्ध गराउने नयाँ चरण सुरु भएको छ।
प्रतिक्रिया