कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

मंगलबार, १२ साउन २०८३, १५ : ५१

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको हो । उनी ८३ वर्षका थिए ।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधन भएको बताए । उनले श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रदान्जलीको लागि राखिने भएको छ ।

श्रदान्जलीपछि पशुपति आर्यघाटमा दाहसंस्कार लगिने भएको छ । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए ।

विगत लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित भएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किएका थिए । उनलाई १४ दिनअघि हेलियस अस्पतालमा भर्ना गरिएको थियो ।

श्रेष्ठमा प्याङ्क्रियाजसम्बन्धी समस्या देखिएपछि नर्भिक र धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि उनलाई भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगेर उपचार गराइएको थियो । त्यहाँ उनले किमोथेरापी समेत लिएका थिए ।

करिब तीन महिनाको उपचारपछि उनी स्वदेश फर्किएका थिए । तर, त्यसयता उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर हुँदै गएको थियो । दिवंगत श्रेष्ठ पछिल्लो ९/१० दिनदेखि जावलाखेलस्थित हेलियस अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत थिए ।

गोपालमान कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक थिए । उनले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालेका थिए थिए ।

राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेका बेला श्रेष्ठले पार्टीको नेतृत्व गरेका थिए । गत वर्ष पुसमा उनी देउवा समूह छाडेर विशेष महाधिवेशनका पक्षमा खुलेका थिए ।

मंगलबार, १२ साउन २०८३, १५ : ५१

प्रतिक्रिया