काठमाडौं- चिनियाँ अटोमोबाइल कम्पनी बीएआईसी (BAIC) को प्रिमियम ईभी ब्रान्ड आर्कफक्सको नयाँ ह्याचब्याक टी वान (T1) अर्को सातादेखि नेपाली बजारमा बिक्री सुरु हुने भएको छ। नेपालका लागि आधिकारिक वितरक लक्ष्मी मोटरहबले साउन २५ गतेदेखि यसको औपचारिक बिक्री सुरु गर्ने जनाएको छ।
कम्पनीले प्रारम्भिक चरणमा आर ४०० एलभी ३ भेरियन्ट पाँच रङमा उपलब्ध गराउनेछ। ४२.३ किलोवाट–आवर एलएफपी ब्याट्री जडान गरिएको यो गाडीले एकपटकको पूर्ण चार्जमा ३१० किलोमिटर (WLTP) सम्म यात्रा गर्न सक्छ। ७० किलोवाट क्षमताको मोटरले १७० एनएम टर्क उत्पादन गर्छ भने अधिकतम गति १४० किलोमिटर प्रतिघण्टा छ।
डीसी फास्ट चार्जरबाट २५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यो गाडी एसी चार्जरबाट करिब ८ घण्टामा पूर्ण चार्ज हुन्छ।
आर्कफक्स टी वानमा १५.६ इन्चको टचस्क्रिन, एप्पल कारप्ले, भ्वाइस कन्ट्रोल, हिटेड तथा भेन्टिलेटेड सिट, चारवटा ड्राइभिङ मोड र ६ स्पिकर अडियो सिस्टम जस्ता प्रिमियम फिचर छन्।
सुरक्षातर्फ एडास (ADAS), अटोमेटिक पार्किङ, लेन डिपार्चर वार्निङ, क्रुज कन्ट्रोल, चार एयरब्याग, एबीएस, ईबीडी, ईएसपी, हिल होल्ड कन्ट्रोल, फ्रन्ट/रियर पार्किङ सेन्सरलगायत आधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ।
लम्बाइ ४,३३७ एमएम, ह्विलबेस २,७५० एमएम र १८१ एमएम ग्राउन्ड क्लियरेन्स भएको टी वानलाई कम्पनीले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उतार्न लागेको हो।
कम्पनीले आधिकारिक मूल्य सार्वजनिक गरिसकेको छैन। तर यसको मूल्य करिब ४० लाख रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ।
प्रतिक्रिया