काठमाडौं- सामाजिक सञ्जालमार्फत चिनजान भएका एक अपरिचित व्यक्तिको प्रलोभनमा पर्दा कास्कीकी एक महिलाले ३१ लाख रुपैयाँ गुमाएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेलायतको नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा ठूलो सम्पत्ति रहेको भन्दै ती महिलासँग फेसबुकमार्फत चिनजान गरेका थिए । उनले नेपाल आएर महिलासँगै जीवन बिताउने आश्वासन दिँदै विमानस्थलका भिडियो तथा भिडियो कलसमेत गरेका थिए ।
पछि आफू भारत हुँदै नेपाल आउन लागेको भन्दै ती व्यक्तिले आफू पक्राउ परेको र छुटाउन भन्सार तथा जरिवाना तिर्नुपर्ने बताए । त्यसपछि भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल भएको नम्बरबाट समेत महिलालाई फोन गरी रकम मागियो ।
महिलाले सुरुमा ९ लाख रुपैयाँ पठाइन् । आफू ठगीमा परेको आशंकामा प्रहरीकहाँ पुगेपछि प्रहरीले थप रकम नदिन सचेत गराए पनि ठगको भावनात्मक दबाबमा परी उनले पुनः २२ लाख रुपैयाँ पठाइन् ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत प्रेम तथा मित्रताको बहानामा, सस्तो सामानको विज्ञापन, नक्कली लगानी, रोजगारीको प्रलोभन तथा बैंक–डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी माग्ने जस्ता माध्यमबाट ठगी बढिरहेको छ ।
प्रहरीले अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, ओटीपी तथा बैंक विवरण कसैलाई नदिन, शंकास्पद लिंक नखोल्न र अनलाइन कारोबारअघि आधिकारिकता यकिन गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया