काठमाडौं- चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको प्रिमियम सबब्रान्ड नेभोको नयाँ विद्युतीय एसयूभी ‘क्यू०५’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘दीपल नेभो क्यू०५’ नाममा यसको बिक्री सुरु गरेको हो ।
कम्पनीले नेभो क्यू०५ लाई दुई भेरियन्टमा नेपालमा उपलब्ध गराएको छ । ‘म्याक्स’ भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र ‘अल्ट्रा’ भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी मूल्य नाडा अटो शो अवधिसम्मका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
नाडा अटो शो सकिएपछि म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ पुग्नेछ ।
आकर्षक डिजाइन, ठूलो आकार, आधुनिक प्रविधि र प्रिमियम फिचरका कारण नेभो क्यू०५ लाई कम्पनीले आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेको छ । चांगानको ‘डिजिटल विङ २.०’ डिजाइन ल्याङ्ग्वेजमा आधारित यो एसयूभीको डिजाइन आधुनिक र फ्युचरिस्टिक देखिन्छ ।
गाडीको अगाडि स्लीक फुल–विथ स्टार रिङ एलईडी लाइट स्ट्रिप, म्याट्रिक्स हेडलाइट र क्लोज्ड ग्रिल दिइएको छ । साइडमा एरोडाइनामिक ह्वील आर्च र आकर्षक क्यारेक्टर लाइन तथा पछाडि जोडिएको एलईडी टेललाइट बारले यसको बाहिरी डिजाइनलाई थप आकर्षक बनाएको छ ।
नेभो क्यू०५ मा १८५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसको लम्बाइ ४४३५ मिलिमिटर, चौडाइ १८५५ मिलिमिटर र उचाइ १६०० मिलिमिटर छ । २७३५ मिलिमिटर ह्वीलबेस रहेको यो एसयूभीको आकार पनि आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धात्मक देखिन्छ ।
गाडीमा ५१.९ किलोवाट आवर क्षमताको ‘गोल्डेन शिल्ड २.०’ एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
नेभो क्यू०५ ले १६२ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
एसयूभीमा १२० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । मोटरले १६३ हर्सपावर र १९० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्ने कम्पनीले जनाएको छ ।
नेभो क्यू०५ को इन्टेरियरलाई पनि प्रिमियम र प्रविधिमैत्री बनाइएको छ । यसमा १४.६ इन्चको सेन्ट्रल डिस्प्ले र १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५० वाटको वायरलेस चार्जिङ, बिल्ट–इन ड्यासक्याम, थ्रीडी ५४० डिग्री क्यामेरा, मोबाइल कनेक्टिभिटी सिस्टम, ब्लुटुथ की र ओटीए अपडेटजस्ता सुविधा यसमा छन् ।
त्यस्तै, गाडीको केबिनमा २५६ किसिमको एम्बियन्ट लाइटिङ उपलब्ध छ । यात्राका क्रममा सामान राख्नका लागि कुल ५४० लिटरको बुटस्पेस तथा विभिन्न २७ स्थानमा स्टोरेज स्पेस दिइएको कम्पनीले जनाएको छ ।
सुरक्षातर्फ नेभो क्यू०५ मा ६ वटा एयरब्याग, ५४० डिग्री क्यामेरा र लेभल–२ एडीएएस प्रणाली उपलब्ध छ । लेभल–२ एडीएएसअन्तर्गत १८ भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सुविधा रहेको कम्पनीको दाबी छ ।
ठूलो आकार, ४६२ किलोमिटर रेन्ज, फास्ट चार्जिङ क्षमता र प्रिमियम प्रविधियुक्त फिचरका कारण नेभो क्यू०५ ले नेपाली विद्युतीय एसयूभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया